काठमाडौं । करिब दुई महिना मेलम्चीको पानी काठमाडौ नआउने भएको छ। सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको भन्दै आगामी असार १ गतेदेखि करिब दुई महिनासम्म काठमाडौं उपत्यकामा पानी वितरण रोक्न लागिएको हो।
मेलम्ची खानेपानी आयोजनाका डिभिजनल इञ्जिनियर तथा प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएको भए त्यसको सुधारको काम गर्न थप समय पनि लाग्न सक्छ । ’त्यसैले २ महिना पानीको निकासी रोकिने उनि बताउँछन् ।
यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो ।उनका अनुसार ठेक्का सम्झौता समापन पनि गर्नुपर्ने बेला भएको छ। त्यसकारण एक पटक सुरूङ परीक्षण जरुरी भएको छ।‘सुरूङमा कुनै त्रुटि नरहे ११ दिनबाट पानी पठाउन थालिने छ,’ पन्तले भने।
अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ। त्यो पानी नआउँदा अभाव रहने भएको छ।
चैत १५ देखि उपत्यकामा पानी वितरण थालिए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २० गते पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन्। त्यसपश्चात मेलम्चीबाट दैनिक १७ करोड लिटर ल्याएर उपत्यकाका विभिन्न ठाउँमा वितरण भइरहेको थियो।