२९ असार २०८२, आईतवार
Follow Us

एनआरएनए जर्मनीः २५ जुलाइमा अधिवेशन, ५ हप्तामा सदस्य संख्या न्युन

नेपालब्रिटेन डट कम्
२ असार २०७८, बुधबार ०३:४३

दीपक धिताल ।
जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीले सातौं अधिवेशन २५ जुलाईमा गर्ने निर्णय गरेको छ । अधिवेशन आह्वानसँगै गत मे ६ बाट सदस्यता नवीकरण र नयाँ सदस्यता आवेदनको लागि खुल्ला गरेको एनआरएन जर्मनीले यो ५ हप्ताको अवधिमा जम्मा ३ सय ४० जनाको मात्र सदस्यता आवेदन प्राप्त भएको जनाएको छ । सदस्यता आवेदन खुलेपछि अहिलेसम्म ३ सय ३५ जना सदस्य अनलाइन प्रणालीमा दर्ता भैसकेको त्यसमध्ये १ सय ७५ जना प्रमाणिकरण ( १५ जुन १८ः०० बजे, जर्मनी ) पुरा भएको महासचिव लोकमणि ढकालले बताए । बाँकीको कागजात अपुग र प्रक्रिया पुरा नभएकाले प्रमाणीकरण नभएको तर सम्वन्धित स्थानीय समन्वय समिति एलसीसीहरु र सिस्टम मार्फत इमेल तथा फोन मार्फत ती आवेदकहरु समक्ष पुगेर छुटफुट कागजात पुरा गर्न आग्रह गर्ने काम जारी रहेको उनले बताए ।

जर्मनीमा करिब १५ हजार गैर आवासीय नेपाली छन् भने गत अधिवेशनमा २ हजार भन्दा बढी सदस्य रहेका थिए । गत अधिवेशनबाट २ जना आइसीसी सदस्यमा गएमा थिए । प्रति हजार सदस्य बराबर एक आएसीसी सदस्य पाइन्छ । यद्यपि सो बेला कागजमा उम्मेदवारले आफ्ना क्षेत्रका नेपालीहरुको नाम चढाएर, आफैं सदस्यता शुल्क तिरिदिएर २ हजार बढी सदस्य बनाउँदै २ जना आइसीसीमा गएका हुन् । सो विषयमा जर्मनीमा अझैपनि विवाद कायमै छ । तर यसपाली डिजिटल एमआइएस प्रणालीबाट सदस्यता बन्नुपर्ने हुँदा संख्यामा कमी आएको छ भने एनआरएनए राजनीतिप्रति धेरै नयाँ पुस्ता सकारात्मक नदेखिनाले पनि सदस्यता बढाउन कठिन भइरहेको बुझ्न सकिन्छ ।

सदस्यताको आवेदन दिन संघको केन्द्रले प्रयोगमा ल्याएको अनलाइन प्रणाली मेम्बरसीप इन्फरमेशन सिष्टम (एमआइएस) प्रयोग गर्नुपर्ने हुन्छ । www.members.nrna.org वा एनड्रोइड, आइफोन जस्ता उपकरणमा स्मार्ट एनआरएनए Smart NRNA नामक एप्स डाउन लोड गरी संघको सदस्य बन्न सकिने ढकालले जानकारी दिए । पञ्जीकृत सदस्यताको लागि २५ जुनसम्म आवेदन दिन सकिनेछ । सदस्यको अन्तिम नामावली ५ जुलाईसम्म प्रकाशन गरिनेछ ।

जर्मनीमा सातवटा एलसीसीहरु छन, ती मध्ये एउटाको अधिवेशन सम्पन्न भैसकेको छ भने बाँकी एलसीसीहरुको पनि धमाधम अधिवेशन मिति सार्वजनिक भएका छन् । एलसीसीहरुलाई जुलाई ११ सम्मको समयसीमा दिदैं अधिवेशन सम्पन्न गरिसक्न एनसीसीले निर्देशन दिएको छ ।

कोरोना महामारीको तेश्रो चरण पार गरेको जर्मनीमा अधिंकाश प्रान्तीय सरकारले खुल्ला आकाशमुनि ५ सय जनासम्म भेट्न पाइने नियम बनाएको छ । जुन अन्त्यसम्ममा यदि नियम परिवर्तन भएर ठुलो संख्यामा भेटघाट गर्न मिल्ने परिस्थिति भएमा प्रत्यक्ष सहभागी भएर नै अधिवेशन गरिने कार्यसमितिले निर्णय गरेको उनले बताए । नत्र अनलाइन बैठकमार्फत अधिवेशन र नयाँ नेतृत्व चयन गर्ने परिस्थिति रहने ढकालको भनाइ छ ।

एनआरएन जर्मनीको नयाँ नेतृत्वका लागि अहिलेसम्म चार जनाको नाम चर्चामा छ । बर्तमान अध्यक्ष हरि न्यौपाने, उपाध्यक्षद्धय मिलन पन्त र निनम्मा राई त्यसैगरी वर्तमान आइसीसी सदस्य टंक लम्सालको नाम अध्यक्षका लागि चर्चामा आएका नाम हुन् । यद्यपि आफ्नो नाममा सहमति जुटेको खण्डमा मात्र पुनः अध्यक्षतामा दोहोरिने अध्यक्ष न्यौपानेको चाहना छ । त्यसैगरी पूर्व महासचिव समेत रहेका आइसीसी सदस्य लम्साल पनि न्यौपानेझैं आफ्नो नाममा सहमति भए अध्यक्षमा आउने नत्र राजनीतिक पार्टीहरुको खिचातानीमा रहेको एनआरएनए चुनावमा नहोमिने मनशायमा छन् ।

५५ लाख सहयोग रकम जुट्यो

कोरोना महामारी विरुद्धको लडाईमा एनआरएनए जर्मनीको पहलमा पहिलो चरणमा करिब ९ लाख र दोश्रो चरणमा ४६ लाख रुपैंया सहयोग उठेको छ । जर्मनीमा रहेका नेपाली संघसंस्था र नेपालीहरुले गरेको सो सहयोगबाट पहिलो चरणमा जर्मनीका कम आय भएका नेपाली समुदायका व्यक्तिहरुलाई खाद्यान्न सहयोगका लागि नगर कुपन प्रदान गरिएको थियो । दोश्रो चरणमा उठेको रकमले ३० ओटा अक्सिजन मेसिन नेपालमा पठाइएको अध्यक्ष हरि न्यौपानेले जानकारी दिए । बाँकी रहेको र अब उठ्ने पैसाले नेपालमा अक्सिजन प्लाण्ट निर्माणमा सहयोग गर्ने अध्यक्ष न्यौपानेको भनाइ छ ।

धेरै पढिएको