लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको जुलाई ३१ तारिख हुने निर्वाचनमा कस्लाई समर्थन गर्ने भन्ने विषयलाई लिएर मिडल्याण्ड क्षेत्रमा नेपालीबीच विवाद चर्किएको छ ।
एनआरएन यूके मिडल्याण्डको एक प्रतिनिधि मण्डलको बैठकको हवला दिदैं बुधबार जुमबाट बसेको बैठकले प्रत्यासीहरूले अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगरको समावेशी टीमसँग सहकार्य गरी जाने निर्णय भएको समाचार बाहिर आए पछि समाज दुई तिर विभाजित भएको हो ।
मिडल्याण्डस्थित बिभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्ने १ दर्जन भन्दा बढी समाजका अगुवाहरुले बुधवार साँझ संचारकर्मीहरुसंग सामूहिक रुपमा छलफल गर्दै मिडल्याण्डमा रहेका सामाजिक संघसंस्थाहरुले कुनै एक समूहको पक्षमा सर्मथन गर्ने विषयमा निर्णय नगरेको जानकारी दिए ।
आदी दर्जन भन्दा बढी संस्था मिलेर गठित साझा नेपाली समाजका उपाध्यक्ष कृष्ण खरेलले एनआरएनए निर्वाचनको सम्बन्धमा कुनै पनि संस्थागत निर्णय नभएको बताए ।
साझा नेपाली समाज मिडल्याण्डका निवर्तमान अध्यक्ष महेश अधिकारीले कुनै एक समूहको उम्मेदवारको पक्षमा समर्थन गरिएको भन्ने निर्णयको खुलेर विरोध गरिने बताए । उनले कुनै एक उम्मेदवारको पक्षमा गरिने निर्णय मिडल्याण्ड र साझा नेपाली समाजको हितमा नभएको बताए ।
यही जुन २३ तारिख साझा नेपाली समाजको पहलमा एनआरएनए मिडल्याण्ड क्षेत्रका अभियन्ताहरू ,बिभिन्न समाजका प्रतिनिधिहरू, साझाका पूर्व अध्यक्षहरू एवं पदाधिकारीहरू र प्रत्यासी उम्मेदवारीहरूको भेलाले साझा नेपाली समाजका वर्तमान अध्यक्ष कृष्ण शर्माको संयोजकत्वमा एनआरएनए यूकेको आगामी अधिवेशनमा र निर्वाचनका लागि आवश्यक निर्णय लिन गठित समिति एक पक्षीय रुपमा गठन भए पछि सो क्षेत्रमा भाँडभैलो चल्लै आएको थियो ।
मिडल्याण्डबाट उपाध्यक्षका प्रत्यासी पवन शर्मालाई बैठकबाट बाहिर निकालेर एक पक्षीय निर्णय सुनाए पछि एनआरएन यूके मिडल्याण्ड प्रतिनिधि मण्डलका सदस्यहरूमा एनआरएनए आईसीसी सदस्य दयानिधि सापकोटा, आईसीसी मानार्थ सदस्य रणबहादुर केसी, एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद सचिव गोबिन्द शर्मा खरेल समेतलाई समेत साझा नेपाली समाज फुटाउन अग्रसर भएको आरोप लागेको छ ।
बैठकमा एनआरएनए यूके सचिव कोशलेश्वर ढकालले तत्काल कुनै पनि उम्मेदवारको पक्षमा निर्णय नलिन दवाव दिएका थिए ।
मिडल्याण्डस्थित संघसंस्थाका अगुवाहरु पशुपति पोखरेल, नारायण फुयाल, तारानाथ भण्डारी, जयराम कंडेल, राधा खरेल शम्भु अर्याल, शिव खरेल, राजु कंडेल, मिलन सापकोटा, पदम गोले, लगायतले सो निर्णयको विरोध गरेका छन् । उनीहरुले मिडल्याण्डबाट प्रतिनिधित्व गर्ने सबै उम्मेदवारको पक्षमा समाज एक हुन आग्रह गरेका छन् ।
एनआरएन यूकेको जुलाई अन्तिम साता हुने कार्यसमितिको निर्वाचनको लागि वर्तमान एनआरएनए यूकेका कार्यसमितिका उपाध्यक्ष प्रेम गाहा मगर, रोजिना प्रधान राई र ईन्ल्याण्ड राज्यपरिषदका दिपक श्रेष्ठ प्रत्यासी रहेका छन् ।
सो निर्वाचनमा भाग लिन लागि ११ हजार ४ सय भन्दा बढीले संघको सदस्यता लिएका छन् ।