१२ भाद्र २०८२, बिहीबार
Follow Us

अक्सिजन कन्सन्ट्रेटर पठाउन सहयोग गर्ने दाताहरु दूतावासमा सम्मानित

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७८, आईतवार १४:५६

सम्झिएनन् पत्रकार
लन्डन । नेपालमा कोभिड महामारीको दोश्रो लहरका बेला बेलायतबाट अक्सिजन कन्सन्ट्रेटर पठाउन आर्थिक सहयोग गर्ने सम्पूर्ण दातालाई लन्डनस्थित नेपाली दूतावासमा सम्मान गरिएको छ ।

नेपाली दूतावास र एनआरएनए यूकले शनिबार दूतावास भवनमा आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । आर्थिक सहयोग गर्ने संघसंस्थाका प्रमुख एवं व्यक्ति गरि करिब ६० जनालाई राजदूत लोकदर्शन रेग्मी र एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले खादा र प्रमाणपत्रले सम्मान गरेका थिए ।

एनआरएनए यूकेको संयोजन तथा नेपाली राजदूतावास लन्डन र एनआरएनए आइसीसीसंगको समन्वय एवं बेलायतका विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा ‘अक्सिजन पठाउं नेपालीको ज्यान बचाउं’ अभियान अन्तर्गत १५० थान अक्सिजन कन्सन्ट्रेटर पठाइ हस्तान्तरण भइसकेको छ । अत्यावश्यक स्वास्थ्य उपकरण किन्न बेलायतबाट करिब २ करोड ५५ लाख संकलन भएको थियो । पहिलो चरणमा दूतावासकी उपनियोग प्रमुख रोशन खनालले स्वागत गर्दै कार्यक्रम शुरुवात गरेकी थिइन् ।

सो अवसरमा राजदूत रेग्मीले नेपाल र नेपालीलाई अप्ठेरो पर्दा बेलायतवासी नेपालीले गरेको निस्वार्थ सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालको समृद्धिका लागि गैर आवासीय नेपालीको साथ सहयोग महत्वपूर्ण हुन पनि उल्लेख गरे । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले दूतावासको सहकार्यमा ऐतिहासिक काम गर्न पाउंदा खुशी लागेको बताउंदै सबैलाई धन्यवाद दिइन् ।
दोश्रो चरणको कार्यक्रम एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रममा एनआरएनए आइसीसी सल्लाहकार कुल आचार्य, आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सेना, एनआरएनए यूके संरक्षक सूर्य गुरुङ, एनआरएनए यूके पदाधिकारी, अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा सम्झिएनन् पत्रकार

अक्सिजन कन्सन्ट्रेटर पठाउन आर्थिक सहयोग गर्ने दाताहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा पत्रकारहरुलाई रिपोटिङ गर्न बन्चित गरिएको थियो । नेपाल पत्रकार महासंघ यूके शाखाका अनुसार दूतावासमा हुन लागेको सो कार्यक्रमको बारेमा वेलायतस्थित पत्रकारहरु अनविज्ञ थिए । पत्रकार महासंघ स्रोतका अनुसार दूतावासले पहिलो पटक यति ठूलो कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलन गर्न रोक लगाएको हो । नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालले सो कार्यक्रमको बारेमा दूतावासबाट कुनै औपाचारिक जानकारी नआएको पुष्टि गरे ।

सो कार्यक्रममा नेपालका राष्ट्रिय दैनिकका प्रतिनिधी लगायत नेपाल पत्रकार महासंघ, फोनिज लगायतका संस्थाहरुलाई समेत आमन्त्रण नगरिएको बुझिएको छ।

धेरै पढिएको