बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा। अग्लो डाँडाको काखमा एक झुपडी। त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार। नजिकै छ, डेढ दर्जनबढी बस्तुभाउ अटाउने गोठ। झुपडीसँगै टाँसिएको तबेला। आँगनमा यत्रतत्र छरिएका लुगा कपडा, भाडाँकुडादेखि काठ दाउरा सबै। यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको।
खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो। चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ। बस्तीभन्दा टाढा भए पनि खन्दै स–सानो बारी (जमिन) जोडेका रहेछन्।
बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरूआती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन। बालबालिका हुर्कँदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए। लामो समयपछि जोगिएका सन्तानको पालनपोषण गर्न खड्का दम्पतीको शक्ति हराउँदै गयो। बालबालिका शिक्षाबाट वञ्चित भए। हिलो, धुलो, कुपोषणको समस्याबाट गुज्रँदै किशोरावस्थामा पुगे।
२६ वर्षमा १२ सन्तानलाई जन्म
भिट्टुकी श्रीमती बेलु खड्काको उमेर ४० वर्ष भयो। केदारस्यूँ गाउँपालिकाको रजाडामा माइतीघर भएकी बेलु र भिट्टुले विसं २०५४ मा बिहे गरिन्। अहिले खड्का दम्पती दाम्पत्य जीवनमा प्रवेश गरेको २६ वर्ष भइसक्यो। यो अवधिमा बेलुले १२ सन्तानलाई जन्म दिइसकिन्।
खड्का दम्पतीको पहिलो सन्तान बिहे गरेको दोस्रो वर्ष २०५५ सालमै जन्मियो। तीन महिना नपुग्दै सन्तान गुमाउनु परेपछि निकै तनावमा भए खड्का दम्पती। अर्को वर्ष नपुग्दै दोस्रो सन्तान जन्मियो। दोस्रो पनि तीनरचार महिनाको बीचमै गुम्यो।
तेस्रो, चौथो हुँदै सातौँसम्म लगातार सन्तान गुमाएपछि उनीहरूले गाउँ नै छोड्ने निधो गरे। ‘गाउँलेले अब तिम्रो जिन्दगी सकियो, निःसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन’, भिट्टु सम्झिन्छन्, ‘गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन। न त जाने खर्च नै। चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौँ।’
भिट्टु जीवनबाट निराश हुँदै मदिरातर्फ सल्किए। त्यो बीचमा फेरि आठौँ सन्तानको रूपमा छोरीको जन्म भयो। छोरी जन्मेको एक सातामै उहाँहरू गडरायका वैद्य (जडीबुटी डाक्टर) को सल्लाहमा गए पछि वैद्यको औषधिले पहिलो सन्तान जोगायो। पहिलो सहित लगातार दुई छोरी जन्मिएपछि फेरि गाउँलेले छोरा जन्मिएन भनेर कुरा काट्न थाले। गाउँले होच्याइरहेको बेला उनको छोरा जन्मियो। भिट्टुले छोरा जन्मिएको खुसीयालीमा गाउँलेलाई ऋण निकालेर एक हप्तासम्मै छैठी (जन्मको उत्सव) मनाए।
सन्तान हुर्कँदै गएपछि घरमा बस्न निकै साँघुरो भयो। त्यसपछि उनीहरू खानडाँडामा गोठ बनाएर बसे र कान्छो छोरा हर्कको जन्म पनि खानडाँडामै भयो।