काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे निजी भ्रमणको सिलसिलामा काठमाण्डु आउने भएका छन । उनी पुस १३ गतेदेखि काठमाण्डु आउने र उनी १७ गतेसम्म नेपालमा रहने स्रोतले जानकारी दिएको छ ।
उनी श्रीमतीसहित नेपाल आउन लागेको सुरक्षा स्रोतले जानकारी दिएको छ । उनको नेपालमा हुने भेटघाट र भ्रमण कार्यतालिकाबारे जानकारी गराइएको छैन । विक्रमासिंघे श्रीलंकाका नवौं राष्ट्रपति र दशौं प्रधानमन्त्री हुन् ।
उनी ६ पटकसम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए । पछिल्लोपटक श्रीलंकामा देखिएको आर्थिक संकटपछि प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिएका थिए ।
त्यसपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री भएको केही महिनामा उनी राष्ट्रपति निर्वाचित भएका थिए । अहिले श्रीलंकामा अनुरा कुमारा दिसानायके राष्ट्रपति छन् ।