अमेरिका सामान पठाउँदा तिर्नुपर्ने नयाँ भन्सार दर कार्यान्वयनमा आएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेअनुसार ९० भन्दा बढी देशले उनीहरुका सामान अमेरिका पठाउँदा तिर्नुपर्ने नयाँ भन्सार दर बिहीवारदेखि कार्यान्वयनमा आएको हो । अब विभिन्न देशबाट अमेरिका सामान आयात गर्ने कम्पनीहरूले अमेरिकी सरकारलाई कर तिर्नुपर्ने छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आयात करका कारण मूल्य बढेसँगै आफ्नो सामानको निर्यात घट्ने निर्यातकर्ता देशहरुको चिन्ता छ । अमेरिकामा उच्च भन्सार दर तिर्नुपर्ने देश ब्राजिल बनेको छ । ब्रजिलबाट आयातित सबैजसो वस्तुमा ५० प्रतिशत शुल्क तोकिएको छ ।
भारतमाथि पनि ट्रम्पले ५० प्रतिशत शुल्क तोकेका छन् । तर, भारतीय वस्तुमाथिको नयाँ भन्सार दर २७ अगस्टदेखि कार्यान्यवनमा आउने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाले ५० प्रतिशत भन्सार शुल्क लगाए पनि आफ्ना किसानहरूको हित विपरित कुनै सम्झौता नगर्ने बताएका छन् ।
बिहीबार दिल्लीमा आयोजित एक कार्यक्रममा मोदीले किसान, पशुपालक र माझीहरूको हित विपरित कसैसँग पनि सम्झौता नगर्ने बताएका हुन् । अमेरिकाको निर्णयलाई भारतको परराष्ट्र मन्त्रालयले अनुचित, अकारण र तर्कहीन’ भनेर टिप्पणी गरेको छ ।
भारतले १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षा सुनिश्चित गर्न रुसबाट तेल आयात गर्नुपरेको जनाएको छ ।