काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेसँगै अब अन्य मन्त्रालयमा पनि नियुक्ति प्रक्रिया अघि बढाइएको छ। परराष्ट्र मन्त्रालयको नेतृत्वका लागि सामाजिक अभियन्ता तथा पूर्व राजदुत भीम उदासको नाम चर्चामा आएको छ।
रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा र ओमप्रकाश अर्याल गृह मन्त्रालयमा नियुक्त भएपछि प्रधानमन्त्री कार्कीले अन्य मन्त्रालयका लागि पनि गैरपार्टी तथा जनविश्वास प्राप्त व्यक्तित्वलाई प्राथमिकता दिने संकेत गरेकी छिन्।
भीम उदास अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ, हार्वर्ड तालिमप्राप्त तथा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन्। जेनजी आन्दोलनपछिको राजनीतिक शुद्धिकरण र जवाफदेहिताको वातावरणमा उनको नाम परराष्ट्र मन्त्रीका रूपमा सम्भावित उम्मेदवारको सूचीमा समावेश गरिएको हो। उनी मान्यनमारको लागि पूर्व राजदुत हुन् ।
जेनजीले उदासलाई औपचारिक रूपमा मन्त्री पदका लागि सिफारिस गर्दै मुलुकमा प्रभावकारी कार्यान्वयन, उत्तरदायी सेवा प्रवाह र नीतिगत शुद्धिकरणका लागि सक्रिय, अनुभवी र जनपक्षीय सोच बोकेको नेतृत्व अपरिहार्य भएको उल्लेख गरेको छ।
उदास निःस्वार्थ सामाजिक कार्यकर्ता, प्रखर विश्लेषक र यथार्थवादी राष्ट्रसेवकका रूपमा चिनिन्छन्। समुदायस्तरदेखि नीति बहससम्म उनले नागरिकका मुद्दा निरन्तर उठाउँदै आएका छन्।