१४ आश्विन २०८२, मंगलवार
Follow Us

२१ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न अल्टिमेटम

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०८२, आईतवार ०६:०२

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन उद्योगीलाई २१ दिने अल्टिमेटम दिएको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता उठाउने निर्णय गरेको हो ।

आइतबार प्राधिकरणले एक सूचना प्रकाशित गरी बक्यौता बुझाउन २१ दिनको समयसीमा तोेकेको हो । ०७२ माघदेखि ०७५ वैशाखसम्मको बक्यौता आगामी कात्तिक १७ गतेभित्र बक्यौता बुझाइसक्न उद्योगीलाई आग्रह गरिएको छ ।

सूचनामा माशिक किस्ताबन्दीमा बक्यौता भुक्तानी गर्न चाहने ग्राहकका लागि २८ साताको समय दिइएको छ । तोकिएको समयसीमाभित्र बक्यौता नबुझाउनेमाथि विद्युत संकलन नियमावली ०७८ बमोजिम कारबाही हुने चेतावनी प्राधिकरणले दिएको छ ।

घिसिङले गत साता पदभार बहाली गर्दै पहिलो निर्णय डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनेबारे गरेका थिए ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङले बक्यौता नतिर्ने उद्योगको लाइन काटेपछि क्रुद्ध भएका तत्कालीन प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले उद्योगीको स्वार्थमा उनलाई गत ०८१ चैत ११ मा बर्खास्त गरेका थिए ।

धेरै पढिएको