लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद अन्त्य गर्न तयार गरिएको एकता अधिवेशन सम्बन्धी प्रस्ताव अनुमोदन गर्न संघले आकस्मिक बैठक बोलाएको छ।
संघका महासचिव गौरीराज जोशीका अनुसार, संस्थाको एकता सुनिश्चित गर्न र भोलि (शनिबार) आयोजना हुने एनआरएनए दिवस कार्यक्रम मनाउने सम्बन्धमा विभिन्न निर्णय लिन शुक्रबार नेपाली समय अनुसार साँझ ५ बजे भर्चुअल बैठक आयोजना गरिएको हो।
यसअघि संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी)ले एकताको लागि आवश्यक निर्णय लिन संघका अध्यक्ष डा. बद्री केसीलाई पूर्ण जिम्मेवारी दिएको थियो। संघभित्र विगत चार वर्षदेखिको विवाद अन्त्य गर्न संघका अध्यक्ष डा. केसी, महेश श्रेष्ठ, र उपाध्यक्ष डा. हेमराज शर्मा विगत तीन महिना देखि निरन्तर आन्तरिक तयारीमा थिए।
तर समाचार तयार पार्दा सम्म एकताको प्रस्तावमा टुंगो लागिसकेको छैन। दुवै पक्षका कार्यदलले आफ्नो प्रतिवेदन गोप्य रुपमा नेतृत्वलाई हस्तान्तरण गर्ने तयारीमा छन्।