१७ मंसिर २०८२, बुधबार
Follow Us

एनआरएनए र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०८२, बुधबार १०:४३

चुनावमा सहयोग गर्न राष्ट्रपति पौडेलको आग्रह

लण्डन । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संघीय संसद् निर्वाचनमा विदेशस्थित गैरआवासीय नेपालीहरूले सक्रिय सहयोग गर्न आग्रह गर्नुभएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसँग बुधबार सितलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले विदेशमा बस्ने नेपालीहरू देशको समृद्धि र विकासका यात्रामा जोडिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

भेटका क्रममा राष्ट्रपति पौडेलले गैरआवासीय नेपालीहरूले उठाउँदै आएका एनआरएन नागरिकता, मताधिकार तथा लगानीसम्बन्धी विषयमा सरकार तहमा थप छलफल र पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले एनआरएनएका प्रमुख मुद्दाहरू राष्ट्रपति समक्ष प्रस्तुत गरेको थियो। भेटमा अध्यक्ष डा. केसीले लागू भएको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन प्रक्रियामा देखिएका जटिलता र अध्यादेशमार्फत उत्पन्न भएका अल्झनहरू समाधान गर्न आग्रह गर्नुभयो।

त्यसैगरी, अध्यक्ष महेश कुमार श्रेष्ठले संस्थाभित्रको विवाद अन्त्य भई अब संघ नेपालको समृद्धिका लागि केन्द्रित हुन लागेको जानकारी दिनुभयो। उनले नेपालमा हुने निर्वाचनमा गैरआवासीय नेपालीहरूलाई मताधिकार सुनिश्चित गर्नुपर्ने माग पनि राख्नुभयो।

भेटमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले राष्ट्रपति पौडेलले देशको राजनीतिक परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। हालै संघभित्र प्राप्त एकताले विदेशमा बसेका नेपाली समुदाय मात्र नभई स्वदेशमै पनि सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो।

गैरआवासीय नेपाली संघमा एकता भइसकेपछि पहिलोपटक भेटघाटका लागि गएको यो प्रतिनिधिमण्डलमा संघका पूर्वअध्यक्षहरू, पूर्वपदाधिकारीहरू तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।

धेरै पढिएको