४ पुष २०८२, शुक्रबार
Follow Us

यी ५ सर्तसहित थुनामुक्त हुँदै रवि

नेपालब्रिटेन संवाददाता
४ पुष २०८२, शुक्रबार ०५:३६

काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज थुनामुक्त हुने भएका छन् । उच्च अदालतको आदेशपछि उनलाई रिहाइको कानुनी प्रक्रिया पूरा गर्न शुक्रबार बिहान ललितपुरको नखु कारागारबाट विमानस्थल पुर्‍याइएको छ ।

लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत रुपन्देही लैजाने तयारी गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीका अनुसार रुपन्देही पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनी आजै रिहा हुनेछन् ।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न अनुमति दिएको हो । अदालतले यसअघि जिल्ला अदालतले गरेको थुनामै राख्ने आदेशलाई बदर गर्दै उनलाई पाँचवटा मुख्य सर्तसहित रिहा गर्न आदेश जारी गरेको छ ।

रिहाइका ५ सर्तहरू:
१. धरौटीको निरन्तरता: सुरु जिल्ला अदालतले २०८१ माघ १३ गते थुनछेक बहसका क्रममा माग गरेको धरौटी रकमलाई कानुनको दफा ६८ बमोजिम स्वीकार गर्नुपर्ने ।

२. बैंक जमानतको सुरक्षा: प्रतिवादीले निवेदनका साथ पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी (बिगोको हकमा) सुरक्षित राख्नुपर्ने ।

३. विदेश यात्रामा जानकारी: लामिछाने व्यक्तिगत वा संस्थागत रूपमा विदेश भ्रमणमा जानुपरेमा सम्बन्धित अदालतलाई पूर्वजानकारी गराउनुपर्ने ।

४. अघिल्लो आदेश बदर: सुरु जिल्ला अदालतले २०८२ साउन २६ गते जारी गरेको थुनामै राख्ने पुरानो आदेशलाई उच्च अदालतले बदर गरिदिएको छ ।

५. थप दायित्वको स्वीकारोक्ति: मुद्दाको अन्तिम फैसला हुँदा थप बिगो वा दायित्व सिर्जना भएमा सो रकम तिर्न वा बुझाउन मञ्जुर भएको लिखित कागजात गराएर मात्र उनलाई थुनामुक्त गर्न आदेशमा भनिएको छ ।

रुपन्देहीमा प्रक्रिया पूरा भएपछि लामिछानेले थुनाबाहिरै रहेर अदालती प्रक्रियाको सामना गर्नेछन् । लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै लगातार विरोध प्रदर्शन गर्दै आएको थियो ।

धेरै पढिएको