काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमुक्त हुने भएपछि उनकी पत्नी निकिता पौडेलले यसलाई न्यायको जित तर प्रतिशोधको अन्त्य नभएको सङ्केत गरेकी छिन् । लामिछाने रिहा हुने आदेश आएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै पौडेलले रवि राजनीतिमा होमिएकै कारण प्रतिशोधको सिकार बन्नुपरेको उल्लेख गरेकी हुन् ।
‘बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ,’ निकिताले भावुक हुँदै लेखेकी छिन् । उनले विगत एक वर्षदेखि आफूहरूले अकल्पनीय पीडा र हैरानी खेप्नुपरेको स्मरण गरेकी छिन् । बढ्दो जनविश्वासलाई निस्तेज पार्न र व्यक्तिगत रूपमा दुःख दिने नियतले रचिएको प्रपञ्चको एउटा अध्याय आजको आदेशसँगै सकिएको उनको ठहर छ ।
निकिताले लामिछानेको हिरासत बसाइलाई ‘कालकोठरी’ को संज्ञा दिँदै भनिन्, ‘यो बीचमा उहाँले कालकोठरी भोग्नुभयो, मैले उहाँको अनुपस्थितिको गहिरो शून्यता । तर, उहाँले जस्तोसुकै प्रतिशोधलाई पनि मुस्कानका साथ सामना गरिरहँदा मैले कानुनी लडाइँको मोर्चा सम्हालिरहेँ ।’
उनले कानुनी प्रक्रिया अझै बाँकी रहेको भए पनि आजको आदेशले ठुलो राहत मिलेको बताएकी छिन् । ‘भगवानप्रतिको आस्था र कानुनी प्रक्रियामाथिको विश्वासले हामीलाई यहाँसम्म ल्याएको छ,’ उनले लेखेकी छिन्, ‘न्यायिक प्रक्रियाबाट प्राप्त यो तत्कालीन राहतलाई दीर्घकालीन बनाएर हामी अझ सशक्त रूपमा उठ्नेछौँ ।’