काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
मंगलबार नयाँ मन्त्रीहरूले शपथग्रहण गरेसँगै कांग्रेस र एमालेबीचको गठबन्धन सरकारमा दोस्रोपटक मन्त्रिमण्डल हेरफेर भएको हो ।
२०८१ असार १७ मा कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिपछि सुरु भएको सत्ता साझेदारीयता यो दोस्रो पुनर्गठन हो । नयाँ मन्त्रिपरिषद्मा दुवै दलले पुरानै मन्त्रालय कायम राख्दै नयाँ अनुहार पठाएका छन् । तर मन्त्रिमण्डलमा एक जना मात्र महिला (राज्यमन्त्री) र एक जना पनि दलित समुदायको प्रतिनिधित्व छैन ।
कांग्रेसबाट चार मन्त्री र एक राज्यमन्त्री तथा एमालेबाट चार मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । कांग्रेसले एक जना महिलालाई राज्यमन्त्री बनाए पनि एमालेले सबै पुरुषलाई मात्र मन्त्री बनाएको छ ।
कांग्रेसमा कोशी प्रदेशसभामा १० जना र एमालेमा १४ जना महिला सांसद हुँदा पनि मन्त्रिमण्डलमा महिलाको प्रतिनिधित्व न्यून रहेको आलोचना भएको छ । यस्तै दुवै दलमा एक/एक जना दलित सांसद रहे पनि मन्त्रिमण्डल दलितविहीन बनेको छ ।
