काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो चुनावी सङ्कल्प (वाचापत्र) सार्वजनिक गर्ने भएको छ । पार्टीले सुर्खेतमा आयोजना गर्न लागेको विशाल ‘परिवर्तन उद्घोष सभा’मार्फत आफ्ना चुनावी एजेन्डा र प्रतिबद्धताहरू आम मतदातामाझ ल्याउन लागेको हो ।
सुर्खेतको ऐतिहासिक घण्टाघर चोकमा आज मध्यान्ह १२ बजेबाट सुरु हुने सभामा रास्वपाका शीर्ष नेताहरूको उपस्थिति रहनेछ । सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । निर्वाचन नजिकिँदै गर्दा पार्टीले आफ्नो रणनीति र भावी योजनाहरूलाई आधिकारिक रूपमा ‘वाचापत्र’ मार्फत बाहिर ल्याउन लागेको हो ।
यसअघि रास्वपाले बुधबार धनगढीमा भव्य जनसभा सम्पन्न गरी ‘परिवर्तन उद्घोष’ अभियानलाई तीव्रता दिएको थियो । देशव्यापी चुनावी अभियानका क्रममा रहेको पार्टीले सुर्खेतको यो सभालाई निकै महत्वका साथ हेरेको छ । घण्टाघरमा हुने आजको सभामा ठुलो संख्यामा सर्वसाधारण र पार्टी कार्यकर्ताको उपस्थिति रहने अपेक्षा गरिएको छ ।