५८ घाइते — १६५ ब्यालिस्टिक मिसाइल र ५४१ ड्रोन अवरोध।
संयुक्त अरब इमिरेट्स (यूएई) माथि पछिल्ला दुई दिनमा इरानबाट भएका आक्रमणमा ३ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्। यूएईको रक्षा मन्त्रालयका अनुसार अवरोध गरिएका मिसाइल र ड्रोनका भग्नावशेष खस्दा विभिन्न नागरिक संरचनामा सामान्यदेखि मध्यम स्तरसम्मको भौतिक क्षति पुगेको छ।
अधिकारीहरूले जनाएअनुसार मृत्यु हुनेमा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक रहेका छन्। घाइतेमध्ये यूएईका नागरिकसहित इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिकहरू रहेका छन्।
आक्रमणको दोस्रो दिन यूएई वायु प्रतिरक्षा बलले २० वटा ब्यालिस्टिक मिसाइल नष्ट गरेको, ८ वटा समुद्रमा खसालेको, २ वटा क्रुज मिसाइल ध्वस्त पारेको तथा ३११ वटा ड्रोन अवरोध गरेको जनाएको छ। यद्यपि २१ वटा ड्रोन नागरिक लक्ष्यमा प्रहार भएको बताइएको छ।
गत शनिबार, फेब्रुअरी २८ देखि हालसम्म इरानबाट यूएईतर्फ प्रक्षेपण गरिएका कूल १६५ वटा ब्यालिस्टिक मिसाइल पहिचान गरिएको छ। तीमध्ये १५२ वटा नष्ट गरिएका छन् भने १३ वटा समुद्रमा खसेका छन्। साथै २ वटा क्रुज मिसाइल पहिचान गरी नष्ट गरिएको छ।
त्यस्तै ५४१ वटा इरानी ड्रोन पहिचान गरिएकामा ५०६ वटा अवरोध गरी नष्ट गरिएको र ३५ वटा यूएई भूभागसम्म पुगेका छन्। ती ड्रोनबाट केही नागरिक संरचनामा भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।