विश्वकप फुटबल २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) को खेलअघि आयोजक मेक्सिको र इंग्ल्यान्डबीचको वातावरण निकै गर्माएको छ । आइतबार हुने खेलका लागि मेक्सिको सिटी पुगेको इंग्ल्यान्ड टोलीलाई स्थानीय समर्थकहरूले होटल बाहिर ‘शत्रुतापूर्ण’ स्वागत गरेका छन् ।
यसअघि मेक्सिकोसँगको खेलअघि इक्वेडरका खेलाडीहरूलाई सुत्न नदिन मेक्सिकन समर्थकहरूले लाउडस्पिकर, हर्न र मोटरसाइकलको प्रयोग गरेर होटल बाहिर अवरोध सिर्जना गरेका थिए । उक्त खेलमा मेक्सिको २–० ले विजयी भएको थियो । सोही घटनालाई ध्यानमा राख्दै इंग्ल्यान्डले आफ्नो होटलको ठेगाना गोप्य राख्न चाहेको थियो ।
तर, ‘स्काई स्पोर्ट्स’ का अनुसार इंग्ल्यान्डको टोली बस होटल बाहिर आइपुग्दा त्यहाँ सयौँको संख्यामा मेक्सिकन समर्थकहरू जम्मा भइसकेका थिए । उनीहरूले इंग्ल्यान्डका खेलाडीहरूलाई गिज्याउँदै (बू गर्दै) र मेक्सिकोको पक्षमा चर्को हुटिङ गर्दै तनावपूर्ण वातावरण सिर्जना गरेका थिए । भिडमा एक जना समर्थकले इंग्ल्यान्डको जर्सी समेत प्रदर्शन गरेका थिए ।
यसअघि इक्वेडर फुटबल महासंघले समर्थकहरूको व्यवहारलाई लिएर आधिकारिक रूपमा गुनासो गरेपछि फिफा र स्थानीय प्रशासनले होटल वरपरको सुरक्षा व्यवस्थामा व्यापक कडाइ गरेको छ । साथै, इक्वेडरविरुद्धको जितपछि मेक्सिको सिटीमा भएको उत्सवका क्रममा चार जनाको मृत्यु भएपछि सुरक्षा संयन्त्रलाई थप सतर्क बनाइएको छ ।
यसैबीच, खेलको समय परिवर्तन हुन सक्ने चर्चा चले पनि अन्ततः खेल पूर्वनिर्धारित समयमै हुने निश्चित भएको छ । खेलको समयमा मेक्सिकोको घरेलु मैदान ‘एज्टेका स्टेडियम’ वरपर भारी वर्षा र चट्याङ पर्ने पूर्वानुमान गरिएपछि फिफाले खेललाई ६ घण्टा अगाडि सार्ने विषयमा दुवै देशका फुटबल संघसँग छलफल गरेको रिपोर्टहरू सार्वजनिक भएका थिए । तर, ती सबै चर्चाका बीच खेल तालिकामा कुनै फेरबदल नगरिएको ‘स्काई स्पोर्ट्स’ ले जनाएको छ ।
इंग्ल्यान्ड र आयोजक मेक्सिकोबीचको यो हाई-भोल्टेज भिडन्त नेपाली समयअनुसार सोमबार बिहान पौने ६ बजे (यूके समयअनुसार सोमबार बिहान १ बजे) सुरु हुनेछ ।