२९ आश्विन २०८३, बिहीबार
Follow Us

गोर्खा भेट्रानका मुद्दामा नेपाली दूतावास लन्डनमा बेलायत सरकारसँग छलफल

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८३, सोमबार २१:०२

लन्डन । बेलायतस्थित नेपाली दूतावासमा गोर्खा भेट्रानसँग सम्बन्धित विभिन्न विषयमा महत्वपूर्ण छलफल भएको छ। बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडीले बेलायतको रक्षा मन्त्रालयअन्तर्गत भेट्रान तथा जनतासम्बन्धी मन्त्री क्याल्भिन बेली (एमपी) तथा नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष एलेक्स बेकर (एमपी) लाई दूतावासमा स्वागत गरेका थिए।

भेटका क्रममा बेलायतमा बसोबास गर्दै आएका तथा बेलायती सेनामा सेवा गरेका गोर्खा भेट्रानका विभिन्न सरोकार र उनीहरूले लामो समयदेखि उठाउँदै आएका मागका विषयमा छलफल भएको थियो। विशेषगरी गोर्खा भेट्रानका मुद्दालाई दीर्घकालीन रूपमा सम्बोधन गर्न न्यायोचित, व्यावहारिक, स्पष्ट र समयसीमासहितको समाधान आवश्यक रहेकोमा जोड दिइएको थियो।

बेलायती रक्षा मन्त्रालयका मन्त्री क्याल्भिन बेली र गोर्खा समुदायका प्रतिनिधिबीच भएको अनौपचारिक भेटघाट तथा संवादलाई महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। भेटका क्रममा गोर्खा समुदायले लामो समयदेखि उठाउँदै आएका विषयलाई स्थायी रूपमा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे विचार–विमर्श भएको थियो।

छलफलमा तत्कालका समस्या समाधान गर्नुका साथै भविष्यमा दोहोरिन सक्ने असमानता र अन्योल अन्त्य गर्ने गरी दिगो समाधानको बाटो पहिल्याउनुपर्ने आवश्यकतामा पनि ध्यान दिइएको बताइएको छ।

गोर्खा भेट्रानका अधिकार, सेवा–सुविधा तथा समानताको विषय बेलायत–नेपाल सम्बन्धसँग समेत प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण विषय हो। गोर्खा सैनिकहरूले बेलायती सेनामा लामो समयदेखि पुर्‍याउँदै आएको योगदानको उचित सम्मान गर्दै उनीहरूका जायज माग सम्बोधन हुनुपर्ने आवाज उठ्दै आएको छ।

यसै सन्दर्भमा पछिल्लो भेटलाई सम्बन्धित पक्षबीचको संवादलाई निरन्तरता दिने तथा बाँकी रहेका विषयमा व्यावहारिक निष्कर्ष निकाल्ने दिशामा सकारात्मक कदमका रूपमा हेरिएको छ।

नेपालसम्बन्धी बेलायतको सर्वदलीय संसदीय समूहका अध्यक्ष एलेक्स बेकरको उपस्थितिले गोर्खा मुद्दा बेलायती संसद् तथा राजनीतिक तहमा निरन्तर छलफलको विषय बनिरहेको संकेत गरेको छ। गोर्खा समुदायका मुद्दामा विभिन्न राजनीतिक दल तथा सांसदहरूले लामो समयदेखि चासो र समर्थन जनाउँदै आएका छन्।

धेरै पढिएको