११ माघ २०८२, आईतवार
Follow Us

तरकारी खेतीमा जुकाको असर

nepalbritain news
२५ जेष्ठ २०७५, शुक्रबार ०९:११

ललितपुर- गोलभेँंडा, काउली, आलु, खुर्सानीलगायत तरकारीको जरामा गाँठा बनाउने जुकाका कारण किसानले पर्याप्त उत्पादन गर्न सकेका छैनन् ।

जुकाका कारण बोट पहेँलो, होचो र ओइलाउने गर्छ । कृिष अनुसन्धान परिषद(नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाका अनुसार जुकाले बालीमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा असर गर्छ ।

वैज्ञानिक चेतना मानन्धरका अनुसार प्रत्यक्ष रुपमा जुकाले जरामा आक्रमण गर्दा उत्पादन कम हुन्छ भने अप्रत्यक्ष रुपमा फलेको बालीको गुणस्तर कम हुन जाँदा बजार मूल्य कम पाउँछ । जुकाको आक्रमणले फलको आकार सानो र बाङ्गो हुने उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “जुकाले आक्रमण गरेको बोटमा ढुसीलगायतका अरु हानिकारक जीवाणुले आक्रमण गर्छन् ।”

काउली, गोलभेँडा, भण्टा, आलु, खुर्सानी, रामतोरीया, गाजर, रायोसाग, बन्दा, परवल, प्याज, काँक्रो, फर्सी, ब्रोकाउलीलगायत तरकारीमा जुकाले आक्रमण गरेको पाइन्छ । शुरुमा जराको टुप्पोबाटभित्र पसेर जुकाले आफ्नो तिखो सुँडले कोषको रस चुस्छ ।

जुका छिरेको दुई÷तीन दिनमानै बालीमा गाँठा देखिन थाल्छ । मानन्धर भन्नुहुन्छ, “दिनदिनै गाँठा बढ्दै जान्छ र केही समयपछि उखालेर हेर्दा नाङ्गो आँखाले नै देख्न सकिन्छ ।”

तोरी, रायोलगायतको पिना, गाईबस्तुको मल, रायोको बीउ पिनेर बिरुवा रोप्दा रोग कम लाग्न सक्छ । बजारमा पाइने जरामा हाल्ने विषादी मिलाएर हाल्न यहाँ कार्यरत वैज्ञानिकले किसानलाई सल्लाह दिँदै आएका छन् । एक अध्ययन अनुसार कास्कीको हेम्जामा जुकाको कारण गोलभेंँडामा २० देखि ३० प्रतिशतसम्म उत्पादन कमी आएको थियो ।
रासस

धेरै पढिएको