१३ पुष २०८२, आईतवार
Follow Us

डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर्न माग

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०७७, बिहीबार ०५:५२

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा प्रहरीले चिकित्सकमाथि गरेको कुटपिटको अनुसन्धान शुरु गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो । समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् ।

हिजो साँझ ड्युटी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले शिक्षण अस्पतालका तीन जना डाक्टरमाथि कुटपिट गरेको आरोप प्रहरीमाथि छ । यता डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले कारबाहीको माग गरेको छ । आज एसोसिएसनले विज्ञप्ति जारी गर्दै डाक्टरमाथि कुट्पिट गर्ने र गाली गर्ने प्रहरीलाई कारबाहीको प्रक्रिया अगाडि नबढाए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रिवि शिक्षण अस्पताल तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र कान्ति बाल अस्पतालमा अध्ययनरत तीनजना आवासीय चिकित्सकहरू डा. शम्भु खनाल, डा. विकास शाह र डा. तेजप्रकाश साहलाई बुधबार राति ८ बजे अस्पतालबाट ड्युटी सकेर फर्कने क्रममा कान्ति बाल अस्पतालको पछाडिको ओरालोमा प्रहरीले लाठी चार्ज गरेको उनीहरू बताउँछन् ।

धेरै पढिएको