१४ असार २०८३, आईतवार
Follow Us

प्रा डा सूर्यप्रसाद सुवेदी नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ निर्बाचित

नेपालब्रिटेन डट कम्
१ पुष २०७७, बुधबार २०:२०

लण्डन । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत प्रोफेसर डा. सूर्यप्रसाद सुवेदीलाई नेपाल प्रज्ञा प्रतिष्ठानले मानार्थ सदस्यता दिने निर्णय गरेको छ ।

प्रतिष्ठानको मंगलबार काठमाडौँमा सम्पन्न ३५ औँ प्राज्ञसभाले प्रोफेसर सुवेदीलाई सो सदस्यता दिने निर्णय गरेको प्राज्ञ शशी लुमुम्बुले वीनेपालीलाई जानकारी दिए ।

सुवेदीसँगै इतिहासकार डा. महेशराज पन्तलाई पनि प्रतिष्ठानको मानार्थ सदस्यता प्रदान गरिएको छ ।

नेपालको लमजुङमा जन्मिएका सुवेदीले काठमाडौँको ल क्याम्पस हुँदै बेलायतको हल र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन् । सुवेदीले विभिन्न देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गर्ने गरेका छन् । उनले नेपाल र बेलायत सरकारका अतिरिक्त अन्य संघसंस्थालाई कानूनी सल्लाह दिएका छन् ।

उनका आठवटा पुस्तक र अनुसन्धानमूलक लेखहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशन भएका छन् । उनका कृतिहरु विभिन्न भाषामा प्रकाशित छन् ।

प्रतिष्ठानले ”भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रको विकासमा विशिष्ट योगदान पुर्याई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गौरव बढाउने स्वदेशी वा विदेशी व्यक्तिलाई” मानार्थ प्राज्ञ सदस्यता प्रदान गर्न सक्ने नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को धारा २८ मा उल्लेख छ ।

हालसम्म प्रतिष्ठानमा दरबारबाट सोझै धनशमसेर जबरा, धरणीधर कोइराला, गोविन्दबहादुर मल्ल गोठाले, शम्भुप्रसाद मिश्र, सिद्धिमुनी शाक्य र तेजरत्न क‌ंसाकार मानार्थ प्राज्ञमा नियुक्त भएका छन् भने २०५१ सालपछि कालीदाश श्रेष्ठ, जनकलाल शर्मा, दुर्गालाल श्रेष्ठ, नातिकाजी श्रेष्ठ, बदरीनाथ भट्टराई, सुन्दर झा शास्त्री र केशव दुवाडीले मानार्थ सदस्यको सम्मान पाएका छन् । जसमध्ये तेजरत्न कंसाकार, कालीदाश श्रेष्ठ र दुर्गालाल श्रेष्ठ मात्र हाल जीवित छन् ।

यसैगरी, प्रतिष्ठानले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । जसअनुसार रु दुई लाखको ‘नेपाल सामाजिक शास्त्र संस्कृति दर्शनशास्त्र पुरस्कार’ प्रा डा वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रा डा तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी, रु एक लाख राशिको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ हरिहर खनाल र रविमान लम्जेल तथा हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरिएको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकले रु दुई-दुई लाख राशीको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ भारत, आसामका लीलबहादुर क्षेत्री, ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सो बराबरको ‘नेपाल प्रज्ञालङ्कार सम्मान’ चीनका प्रा वाङ हङ्वेईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले गत आवको खर्च पारित गर्दै चालु आवका लागि रु १९ करोड ५० लाखको बजेट पारित गरेको छ । सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ । बैठकमा कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमको समीक्षा र भावी कार्यक्रमिक योजनाबारे सभामा छलफल भएको बताउनुभयो । सभामा मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल शुभकामना सम्बोधन गर्नुभएको थियो ।

धेरै पढिएको