१५ बैशाख २०८१, शनिबार
Follow Us

आजबाट राष्ट्रिय जनगणना कार्यक्रम सुरु

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७८, बिहीबार ०४:५०

राष्ट्रिय जनगणना कार्यक्रम आजबाट सुरु हुँदैछ । नेपाल सरकारले १० बर्ष चार महिनापछि सञ्चालन गर्न लागेको राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार गणनाको थालनीमा कात्तिक २५ गते बिहान साढे नौ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको परिवारको विवरण गणना गरिनेछ ।

त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक संकलन गर्ने तयारी गरिएको छ । यसपटक हुने जनगणनामा व्यक्तीको संख्या मात्र नभएर मुलुकमा रहेका समग्र घर, जग्गा, उद्योग, कल कारखाना, व्यक्तीको पेशा, व्यवसाय, शिक्षा, खानेपानी, आर्थिक अवस्था, घरायसी सुविधा र साधनहरु, बार्षिक आय, बालबालिका, उनीहरुको स्वास्थ्य, आवासको अवस्था लगाएतका विषयमा समेत विस्तृत तथ्याङ्क संकलन गरिने छ ।

जनगणना अघि भएको घर जग्गा सूचीकरणमा २५ प्रश्न सोधिएकोमा अब हुने जनगणनामा भने ५५ प्रश्नहरु तयार पारिएको छ । यसरी प्रश्न सोद्धा एक परिवारमा २० मिनेट देखि आधा घण्टा समय लाग्ने तथ्याङ्क विभागको भनाइ छ । कार्तिक २५ देखि मंसीर ९ गतेसम्म जम्मा १५ दिनमा गरिने जनगणनाको प्ररम्भिक विवरण तीन महिनामा सार्वजनिक गर्न सकिने तथ्याङ्क विभागले जनाएको छ ।

जनगणना टोलीलाई आफ्नो विवरण दिँदा संकेत नम्बरमा पनि तथ्याङ्क जनाउनु पर्ने हुँदा हरेक व्यक्ति चनाखो हुनु पर्ने र वास्तविक विवरण टिपाउनु पर्ने जनसंख्याविज्ञहरुले बताएका छन् । जनगणना कार्यक्रम संचालनका लागि सातै प्रदेशमा प्रदेश जनगणना कार्यालय तथा ८७ जिल्ला जनगणना कार्यालय र तीन सय ४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएका छन् ।

जनगणनाको लागि ४० हजार गणक तथा ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन खटाइएका छन् । यस बर्षको जनगणना कार्यक्रमको अनुमानित खर्च ४ अर्ब रहेको छ । जनगणनाको विवरणकै आधारमा सरकारी तथा अन्तर्राष्ट्रिय निकायहरुले जनताका लागि विकासका कार्यक्रम संचालन गर्ने भएकोले सावधानी र सक्रिययतापूर्वक सही विवरण दिनु सबै नेपालमा रहेका सबैको कर्तव्य भएको छ ।