लन्डन । गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित सरसर्ती संसारको लन्डनमा भएको बिक्रीबाट जम्मा भएको रकम बाग्लुङमा एम्बुलेन्स खरिद गर्न खर्चिने भएको छ । बाग्लुङको अमलाचौरबासी युवा तथा पूर्वविद्यार्थीको सक्रियतामा खरिद गर्न लागिएको सो एम्बुलेन्सका लागि लन्डनमा संकलन भएको २ लाख ५ हजार रुपैयाँ नेपाल रेडक्रस सोसाइटी अमलाचौर एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन उपसमितिको खातामा मंगलवार जम्मा गरिएको अमलाचौर स्कुल एल्मुनाई एसोसियनले जनाएको छ ।
एसोसियनले स्थानीयको सक्रियतामा खरिद गरिने सो एम्बुलेन्सका लागि सानो सहयोग जुटाउन सकिएकोमा प्रशन्नता प्रकट गर्दै सहयोगदातालाई धन्यवाद दिएको छ ।
नेपाल रेडक्रस सोसाइटी अमलाचौर एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन उपसमितिमार्फत् एम्बुलेन्सको खरिदका लागि सहयोग संकलन भइरहेको संयोजक निशान बिकले जनाकारी दिए । यसअघि यूरोप, अमेरिका, कोरिया तथा मध्यपूर्वमा कार्यरत पूर्वविद्यार्थी लगायतको सक्रियतामा करिब १६ लाख रुपैयाँ संकलन भइसकेको बिकले बताए ।
नेपाल ब्रिटेन डट कमले बेलायतमा आयोजना गरेको मिट द अथर कार्यक्रममा संकलित रकममा थप गरी लामिछानेले १ लाख र बेलायतमा रहेका पूर्वविद्यार्थीहरु कृष्णप्रसाद शर्मा, भूपेन्द्र पाठक, सरस्वती केसी, किशोर सापकोटा र हेमराज शर्माको सहयोगबाट सो रकम जम्मा भएको एसोसियसनले जनाएको छ ।
यसअघि अमलाचौर सक्रिय तथा वैदेशिक रोजगारीमा रहेका युवाको पहलमा ९ सदस्सीय एम्वुलेन्स सञ्चालन तथा व्यवस्थापन उपसमिति गठन गरिएको थियो ।
सो समितिको संयोजकमा निशान बिक, सहसंयोजक डिल्लीप्रसाद आचार्य र सदस्यहरुमा पशुपति शर्मा, जगतबहादुर पाठक, खगेन्द्र बिक, सुरजकुमार समुन्द्रिया, हुमाकुमारी शर्मा, लेखे सार्की, कृष्णबहादुर केसी छन् ।
एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन उपसमितिले आगामी २ महिना भित्र अमलाचौर —बाग्लुङ — पोखरा रुटमा चल्ले गरि सो एम्बुलेन्सको खरिद प्रक्रिया आगाडि बढाएको छ ।