२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस महाधिवेशनमा २९ देशका १ सय ९४ जना प्रतिनिधि ( देशको नाम सहित )

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०७८, शनिबार ०१:५२

लण्डन। नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुको आधिकारिक र अन्तिम नामावली प्रकाशित गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले देशका १६५ निर्वाचन क्षेत्र र भ्रातृ तथा शुभेच्छुक संघ, संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको हो ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले निर्वाचन समितिको निर्णय बमोजिम अन्तिम नामावली प्रकाशन भएको जानकारी दिए । यसअघि निर्वाचन समितिले प्रारम्भिक सूची सार्वजनिक गर्दा ४३ सय १९ जना प्रतिनिधिको सूची सार्वजनिक गरेको थियो ।

प्रकाशित अन्तिम नामावली अनुसार केन्द्रीय समितिका पदाधिकारी र सदस्य मात्रै १०३ जना प्रतिनिधि हुनेछन् । यसैगरी प्रदेश १ बाट ७ सय ३६ जना, प्रदेश २ बाट ८ सय ७ जना, बागमती प्रदेशबाट ८ सय ७९ जना, गण्डकीबाट ४ सय ७६ जना, लुम्बिनी प्रदशेबाट ६ सय ८२ जना, कर्णालीबाट ३ सय १५ जना र सुदूरपश्चिम प्रदेशबाट ४ सय १७ जना महाधिवेशन प्रतिनिधि बनेका छन् ।

यसैगरी भ्रातृ तथा शुभेच्छुक संघ सस्थाबाट १ सय २५ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल महिला संघ, किसान संघ, दलीत संघ, मुस्लिम संघ, तामाङ संघ सहितका भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ती महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

यसैगरी विदेशस्थित जनसम्पर्क समितिबाट १ सय ९४ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । जर्मनी, मकाउ, बेलायत, नर्बे, इजरेल, बहराइन, यसएई, कतार, ओमन, मलेसिया, साउदी अरेबिया, हङकङ, स्पेन, बेल्जियम, दक्षिण कोरिया, अमेरिका, जापान, स्वीडेन, भारत, अष्ट्रेलिया, पोर्चुगल, क्यानडा, डेनमार्क, नेदरल्याण्ड्स, आयरल्याण्ड, फ्रान्स, कुवेत, साइप्रस र पोल्याण्डबाट गरी १ सय ९४ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

यी सबै महाधिवेशन प्रतिनिधिले कांग्रेसको जारी महाधिवेशनमा केन्द्रीय नेतृत्व चयन गर्न मतदान गर्न पाउने छन् ।