७ भाद्र २०८३, आईतवार
Follow Us

एनआरएनएको सञ्जाल १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०८३, आईतवार ११:१२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो सांगठनिक सञ्जाललाई विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आइतबार आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. हेमराज शर्माले आगामी कार्यकालमा संघको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली हुनुको पहिचान भूगोल र कानुनमा मात्र सीमित नहुने बताउँदै शर्माले विश्वभर फैलिएको नेपाली डायस्पोराको सम्भावना र सामर्थ्यलाई नेपालको विकाससँग जोड्नुपर्ने बताए ।

नेपालभित्रको जनशक्तिभन्दा नेपालबाहिर रहेको युवा जनशक्तिको संख्या र उनीहरूको आर्थिक उपार्जन क्षमता ठूलो भइसकेको उनले बताए । विश्वका सानादेखि ठूला शहरसम्म नेपाली उत्पादनको पहुँच पुगिसकेको र पछिल्लो समय ढुवानी लागतसमेत कम भएकाले नेपाली सामग्रीको अन्तर्राष्ट्रिय बजारीकरण सहज भएको उनको भनाइ थियो ।

‘यो भूगोल र कानुनलाई हटाइदिने हो भने हामी जहाँ बसे पनि नेपाली नै हौँ । गैरआवासीय नेपाली भन्नै परेन । कानुनी हिसाबले वा अन्य हिसाबले हामी गैरआवासीय भए पनि नेपाली नै हौँ,’ शर्माले भने ।

नेपाल अहिले विश्वभर फैलिएको बताउँदै उनले संघको अभिलेखअनुसार ११० राष्ट्रमा नेपालीहरू रहेको जानकारी दिए । ९२ देशमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद् रहेको उल्लेख गर्दै शर्माले आगामी कार्यकालमा त्यसलाई १०० भन्दा बढी देशमा विस्तार गर्ने बताए ।

‘यो कार्यकालमा हामीले १०० भन्दा बढी देशमा पुर्‍याउँछौँ भनिसकेपछि संसारै नेपाल हो भन्ने बुझ्न सकिने भयो,’ उनले भने ।

विदेशमा नेपाली उत्पादनको बढ्दो पहुँचबारे चर्चा गर्दै शर्माले लन्डनजस्ता ठूला शहरदेखि थोरै नेपाली बसोबास गर्ने स्थानसम्म पनि नेपाली सामग्री पुगिरहेको बताए । पछिल्लो समय ढुवानी सेवा सहज र सस्तो भएकाले विदेशमा नेपाली उत्पादनको बजार विस्तार गर्न थप सम्भावना रहेको उनको भनाइ थियो ।

‘लन्डनमा दुई–तीन लाख नेपाली बस्छन् । त्यहाँ गुन्द्रुक पाउन कुनै समस्या छैन । १००–१५० जना नेपाली बस्ने ठाउँमा पनि नेपालको उत्पादन त्यहाँ पुगेकै छ,’ शर्माले भने, ‘अहिले त यहाँबाट सामान डेलिभरी गर्ने चार्ज पनि एकदम सस्तो भएको छ ।’

नेपालबाहिर रहेको नेपाली समुदाय संख्या, क्षमता र आम्दानीको हिसाबले ठूलो भइसकेको भन्दै उनले त्यहाँ रहेको सम्भावनालाई नेपालसँग जोड्नु एनआरएनएको प्रमुख उद्देश्य रहेको बताए ।

‘समग्रमा नेपाल यो भूगोलभित्रको नेपालभन्दा भूगोलबाहिरको नेपाली जनसंख्यालाई हेर्नुभयो भने अझ ठूलो देखिन्छ । क्षमताको हिसाबले हेर्नुभयो, आम्दानीको क्षमताको हिसाबले हेर्नुभयो भने पनि बाहिरको नेपाली समुदाय ठूलो भइसकेको छ,’ उनले भने, ‘त्यहाँ रहेको अथाह सम्भावनालाई नेपालसँग जोड्नुपर्छ भन्ने नै एनआरएनएको प्रमुख उद्देश्य हो ।’

संघले आगामी दिनमा आफ्नो कार्यक्षेत्र र दायरालाई थप विस्तार र परिष्कृत गर्दै लैजाने योजना बनाएको शर्माले बताए ।

एनआरएनए र नेपाल चेम्बर अफ कमर्सबीच भएको सहकार्यले वैदेशिक लगानी भित्र्याउन तथा नेपाली उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

धेरै पढिएको