१८ बैशाख २०८१, मंगलवार
Follow Us

ग्रिसमा अलपत्र शवहरु एनआरएनएको सहयोगमा नेपाल पठाईदै

नेपालब्रिटेन डट कम्
१० माघ २०७८, सोमबार २०:३८

लण्डन । ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्ततः नेपाल पठाईने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा यथाशिघ्र नेपाल पठाउन लागिएको हो।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २ सय युरो संकलन गर्दै ग्रिस पठाईएको छ । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर मृत्यु भएका चार नेपालीको मृत्यु भएको थियो।

‘हामीले आवश्यक रकम एजेन्सीलाई बुझाईसकेका छौ’ सहकोषाध्यक्ष दाहालले भने, ‘ ग्रिसमा अहिले अत्याधिक हिउँ परिरहेको छ। यदी उडान प्रभावित नभएमा शनिवार ग्रिसबाट नेपाल पठाउने योजना छ।’

दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका – ३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका – ५ तनहुँका ओम भनिने उम बहादुर थापामगरका परिवारजनले शव पठाउन सहयोगका लागि एनआरएनएलाई गुहारेका थिए।

टर्कीसम्म श्रम स्विकृत लिएर आएको भन्दै अन्य दुई जनाको खर्च भने श्रमिक कल्याणकारी कोषको रकमबाट नेपाल सरकारले ब्यहोरेको थियो।भिमेश्वर नगरपालिका – ६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका – ४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव बुधबारसम्म नेपाल पुग्ने नेपाली राजदूतावास भियानाले जनाएको छ।

बाँकी दुईजनाको शव नेपाल पठाउन एनआरएनएले रकम संकलन कार्यको संयोजन गर्न सहकोषाध्यक्ष दाहाललाई जिम्मेवारी दिएको थियो। बेल्जियम निवासी व्यवसायी समेत रहेका दाहालले ५ सय युरो सहयोग घोषणा गर्दै रकम संकलन अभियान सुरु गरेका थिए।

दाहालका अनुसार गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट २ हजार डलर, एनआरएन बैदेशिक रोजगार कल्याणकारी कोषबाट २ हजार डलर,संघका सचिव गौरी जोशीमार्फत ५ सय डलर, राज रेग्मी ५ सय डलर लगायतबाट सहयोगको प्रतिवद्वता आईसकेको छ। हालसम्म ६ हजार ९ सय २३ युरोको सहयोग प्रतिवद्वता आएको छ।

ग्रिस नेपाल सोसाइटीका संस्थापक अध्यक्ष कृष्ण पोखरेलले शव नेपाल पठाउने प्रक्रियामा समन्वय गरेका छन्।

विगत २५ वर्षदेखि ग्रिसमा बस्दै आएका पोखरेललाई शव नेपाल पठाउने प्रक्रियाका सहयोग गर्न भन्दै नेपाली राजदूतावास भियनाले अख्तियारी प्रदान गरेको थियो।