२६ आश्विन २०८३, सोमबार
Follow Us

कांग्रेस मतगणना २३ ठाउँमा जारी

नेपालब्रिटेन संवाददाता
२६ आश्विन २०८३, सोमबार १२:५९

काठमाडौँ । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदहरूको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गन्ने कार्य भइरहेको छ। सभापतिसहित प्रमुख पदाधिकारीहरूको  मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्र गतिमा अघि बढाएको हो।

धेरै पद र उम्मेदवारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै समूह बनाएर गणना अगाडि बढाएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

जसअनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना ५ स्थानमा भइरहेको छ भने प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनालाई तीव्रता दिन सबैभन्दा धेरै ९ स्थानमा टोली परिचालन गरिएको छ।

त्यसैगरी आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना ३ स्थानमा भइरहेको छ। 
सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्य, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना ४ स्थानमा जारी छ। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको गणना २ स्थानमा भइरहेको छ।

यसरी कुल २३ स्थानमा एकसाथ गणना कार्य अघि बढाइएपछि नतिजा सार्वजनिक हुने क्रममा तीव्रता आएको छ। उम्मेदवार तथा तिनका आधिकारिक प्रतिनिधिहरूको उपस्थितिमा सुरक्षा व्यवस्था कडा बनाएर मतगणना शान्तिपूर्ण रूपमा जारी राखिएको र बाँकी सबै पदहरूको अन्तिम परिणाम छिट्टै सार्वजनिक गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ।  अघिल्लो महाधिवेशनमा भन्दा दोबरभन्दा धेरै करिब ७ हजार मतदाता भएकाले ढिलो भए जस्तो लाग्यो स्वभाविक भएको उनको भनाइ थियो। अघिल्लो महाधिवेशनमा झन्डै ३ हजार मतदाता रहँदा १२ दिन लागेको स्मरण गराउँदै उनले यसपटक त्यति समय नलाग्ने दाबी पनि गरे।

धेरै पढिएको