२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए निर्वाचन : मनोनयन दर्ता आज

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७८, सोमबार ०६:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयां नेतृत्वको निर्वाचनको लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ ।
संघको निर्वाचन समितिका प्रमुख भिमसेन बन्जाराका अनुसार संघको पूर्वनिर्धारित कार्यतालिका अनुसार आज (सोमवार) देखी भोलि (मंगलवार) साँझ ५ बजे सम्म मनोनयन दर्ता प्रकृया जारी रहने छ । उम्मेदवार हुन् चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।
संघको अध्यक्ष सहित ५१ पदाधिकारीको लागि मनोनयन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।

गत अक्टोवरका लागि तय गरिएको निर्वाचन प्रतिनिधि विवादको कारणले रोकिएको थियो । निर्वाचन समितिले मार्च २१ र २२ तारिखको लागि अनलाइन निर्वाचनको गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले सोमवार बिहान अन्तिम ३५९० जनाको मतदाता नामावली समेत सार्वजनिक गरेको छ ।
संघको नयाँ नेतृत्वको लागि अध्यक्षमा डा. बद्री केसी, रविना थापा र कुल आचार्यले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी शुल्क १० लाख

संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार, महिला सहित उपाध्यक्षहरुका लागि ७ लाख रुपैयाँ वा अमेरिकी डलर ७ हजार, महासचिवका लागि ६ लाख रुपैयाँ वा अमेरिकी डलर ६ हजार, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैयाँ वा अमेरिकी डलर ५ हजार, सह–कोषाध्यक्षका लागि ४ लाख रुपैयाँ वा अमेरिकी डलर ४ हजार, महिला, युवा र क्षेत्रीय संयोजकका लागि ३ लाख ५० हजार रुपैयाँ वा अमेरिकी डलर ३ हजार ५ सय, महिला, युवा र क्षेत्रिय उपसंयोजकका लागि २ लाख ५० हजार रुपैयाँ वा २ हजार ५ सय डलर र आईसिसि सदस्यहरुका लागि१ लाख रुपैयाँ वा अमेरिकी डलर एक हजार तोकिएको छ ।