लण्डन । क्याम्ब्रिज विश्वविद्यालयको बोटानिकल गार्डेनमा रहेको न्युटनको रूख जुन तूफानका कारण दुई साताअघि ढलेको छ। तस्बिर स्रोतः बिबिसीक्याम्ब्रिज विश्वविद्यालयको बोटानिकल गार्डेनमा रहेको न्युटनको रूख जुन तूफानका कारण दुई साताअघि ढलेको छ।
रूखबाट खसेको फल उडेर आकाशतिर जाँदैन। हावामा तैरिएर पनि बस्दैन। त्यो खसेर भुइँमै झर्छ।
उचाइबाट झर्नेहरू भुइँमा पछारिनु प्रकृतिको नियम हो। वैज्ञानिक सर आइज्याक न्युटनले प्रकृतिको यही नियमका आधारमा गुरूत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरे।
विज्ञानले कथा-किम्बदन्ती भन्दैन। विज्ञान सत्यमा आधारित हुन्छ। तर भौतिक विज्ञानमा एउटा यस्तो किम्बदन्ती छ जुन संसारभरका विद्यार्थीले पढ्छन् र विश्वास गर्छन्।
यो किम्बदन्ती सर आइज्याक न्युटन र उनले प्रतिपादन गरेको गुरूत्वाकर्षण सिद्धान्तसँग सम्बन्धित छ।
किम्बदन्ती यस्तो छ- एक दिन आइज्याक न्युटन आफ्नो बगैंचामा डुलिरहेका थिए। त्यही बेला उनले रूखबाट स्याउ खस्दै गरेको देखे। यसरी रूखबाट स्याउ खस्नु सामान्यभन्दा पनि अतिसामान्य दृश्य थियो। संसारमा स्याउ खसेको देखेर सायदै कसैको मथिंगल हल्लिएला। तर आइज्याक न्युटन अपवाद हुन्। यो दृश्यले उनको मथिंगल यस्तरी हल्लियो, उनले यही दृश्यका भरमा पृथ्वीको गुरूत्वाकर्षण शक्ति हुन्छ र त्यही शक्तिका कारण हरेक वस्तु माथिबाट तल झर्छ भन्ने सिद्धान्त प्रतिपादन गरे।
यो कथामा शंका गर्नेहरू धेरै छन्। तर महान् लेखक भोल्टायरले आफ्नो किताब ‘एसे अन इपिक पोयट्री’ मा यो प्रसंग यस्तरी वर्णन गरिदिए, झन्डै तीन सय वर्षअघि संसारबाट विदा भइसकेका न्युटनको स्याउको कथा इतिहासका रूपमा दर्ज भएको छ।
तर के तपाईंलाई थाहा छ, न्यूटनको यो कथासँग जोडिएको स्याउको रूख दुई साताअघि यो संसारबाट विदा भएको छ।
तपाईंहरूलाई यस्तो रूख साँच्चिकै थियो र भन्ने लाग्छ भने सबभन्दा पहिला थाहा पाउनुहोस्, आइज्याक न्युटनले जुन रूखबाट स्याउ खस्दै गरेको देखेर गुरूत्वाकर्षण सिद्धान्त पत्ता लगाए भनिन्छ, त्यो रूख बेलायतको लिंकनसायरस्थित वुल्सथोर्प म्यानर हाउसमा थियो। यो न्युटनको जन्मघर हो जुन अहिले सरकारी स्वामित्वमा छ। त्यो रूखलाई मान्छेहरू ‘न्युटनको रूख’ भनेर चिन्थे।
न्युटनको यही रूख बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको बगैंचामा पनि थियो। एकै रूख कसरी दुईतिर भयो भनेर नझुक्किनु होला। न्युटनको घरमा भएको रूखबाटै क्लोनिङ गरेर अर्को रूख बनाइएको थियो। क्लोनिङ गरेर बनाइएको नयाँ रूखलाई नै क्याम्ब्रिज विश्वविद्यालयको बगैंचामा सारियो। कुनै पनि प्राणी वा वनस्पतिको डिएनएबाट अर्को त्यस्तै प्राणी वा वनस्पति निकाल्नुलाई क्लोनिङ भनिन्छ। वैज्ञानिकहरूले मूल रूखबाट बनाइएको नयाँ रूखलाई पनि ‘न्युटनको रूख’ भनेरै नामकरण गरेका थिए।
बिबिसीका अनुसार यो नयाँ रूख सन् १९८४ मा क्याम्ब्रिज विश्वविद्यालयको बोटानिक गार्डेनमा रोपिएको थियो। कति बर्खा, हावाहुन्डरी, चट्याङ र आँधी सहेर ६८ वर्षदेखि यो रूख बगैंचाको प्रवेशद्वारमा उभिएर शोभा बढाइरहेको थियो।
गत फेब्रुअरी २१ मा भने एक्कासि सोच्दै नसोचेको घटना भयो। न्युटनको त्यो रूख ढल्यो।
बगैंचाका स्याहारकर्ता डाक्टर सामुअल ब्रोकिङटनका अनुसार तीव्र तूफानका कारण त्यो रूख ढलेको हो। इयुनिस नामको तूफान त्यो साताको शक्तिशाली तूफानमध्ये एक थियो जसका अगाडि न्युटनको रूखको जोर चलेन। जरैसमेत उखेलिएर ढल्यो।
यो रूख ढलेको दृश्य हेर्न न्युटन जिउँदा हुन्थे भने सायद उनले अर्को सिद्धान्त प्रतिपादन गर्थे, हुन्डरीको शक्तिका अगाडि पृथ्वीको गुरूत्वाकर्षणले पनि रूखलाई ढल्नबाट रोक्न सक्दैन।
त्यसो भए न्युटन र विज्ञानमा चासो राख्ने नयाँ पुस्ताले के अब न्युटनको रूख देख्न पाउने छैनन्?
धेरैले यस्तो चिन्ता व्यक्त गरेका छन्। उनीहरूका लागि राहतको खबर छ। न्युटनको अर्को रूख पनि छ। यो रूख पनि न्युटनको घरमा भएको मूलरूखबाट क्लोन गरेर तयार पारिएको हो। बगैंचा व्यवस्थापनका अनुसार अब यो रूखलाई क्याम्ब्रिज विश्वविद्यालयको त्यही बगैंचामा लगेर रोपिनेछ।
झन्डै सात दशकदेखि उभिएको रूख ढल्दा आफूलाई निकै दुःख लागेको डाक्टर सामुअलले बताएका छन्। यो स्याउको रूखमा मौरीको ढुसी अत्यधिक भएकाले ढल्न सक्ने आशंका उनीहरूले पहिल्यै गरेका थिए।
‘हामीले अब यो रूख मर्छ भन्ने अनुमान लगाइसकेका थियौं,’ उनले बिबिसीलाई भनेका छन्, ‘विज्ञान र प्रविधिका कारण हाम्रो संकलनमा न्युटनको रूख सधैं रहिरहन सक्नेछ भन्नेमा आशावादी छौं।’
कुनै दिन तपाईंहरू पनि क्याम्ब्रिज विश्वविद्यालयको बोटानिक गार्डेन जानुभयो भने पक्कै न्युटनको रूख देख्न पाउनु होला।