काठमाडौँ । नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगको कार्यालयमा शक्ति प्रदर्शनको रूपमा प्रकट भएको छ ।
पार्टीको संस्थापन पक्ष (शेरबहादुर देउवा नेतृत्व) र विशेष महाधिवेशन पक्ष (गगन थापा नेतृत्व) दुवैले एकअर्काविरुद्ध आधिकारिकताको दाबी गर्दै आयोग परिसरमा प्रदर्शन र धर्ना दिएका हुन् ।
विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले बिहीबार आधिकारिकताको माग गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो । त्यसको प्रतिवादमा शुक्रवार बिहानै देउवा पक्षका शीर्ष नेता तथा कार्यकर्ताहरूको जम्बो टोली आयोग पुगेको हो ।
आयोग परिसरमा देउवा पक्षका नेताहरूले आफूहरू नै वैधानिक काँग्रेस भएको जिकिर गर्दै शक्ति प्रदर्शन गरेका छन् । संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको भन्दै आलोचना गरेका छन् । उनीहरूले यदि आयोगले विधान, संविधान र कानुन विपरीत निर्णय गरेमा देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

यता, गगन थापा पक्षले पनि आयोगमा दबाब बढाउँदै धर्ना तथा प्रदर्शन गरेको छ । उनीहरूले बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको दाबी गरेका छन् । विशेष महाधिवेशनले नयाँ कार्यसमिति गठन गरिसकेको र पुरानो समिति स्वतः भङ्ग भएको उनीहरूको तर्क छ ।
निर्वाचन आयोगले दुवै पक्षको निवेदन तथा दाबीमाथि छलफल गरिरहेको जनाएको छ । आयोगको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी ऐन, पार्टी विधान र विगतका नजिरका आधारमा हुने बताइएको छ ।
नेपाली काँग्रेसको यो विवादले आगामी निर्वाचनलाई समेत प्रभावित पार्ने आशंका गरिएको छ । पार्टीको नाम, चुनाव चिन्ह ‘रुख’ र झण्डाको आधिकारिकता कसले पाउने भन्ने विषयमा आयोगको निर्णय निर्णायक हुने देखिन्छ । दुवै पक्षले आयोगको निर्णयलाई चुनौती दिने तयारी गरेका छन् ।
यो विवादले नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस औपचारिक विभाजनको सँघारमा पुगेको सङ्केत गरेको छ ।