२५ बैशाख २०८१, मंगलवार
Follow Us

स्कटल्याण्डका नेपालीप्रति नवनियुक्त राजदुत आचार्यको चासो

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७८, शुक्रबार ०१:१०

लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) राज्य समन्वय परिषद स्कटल्याण्डका प्रतिनिधिहरुले नवनियुक्त बेलायतका लागि नेपाली राजदुत ज्ञान चन्द्र आचार्यलाई स्वागत गरेका छन् ।

उनीहरुले मार्च १५ का दिन लन्डनस्थित नेपाली दूतावासमा उपस्थित भएर सो स्वागत गरेका हुन् ।

उक्त अवसरमा राजदुत आचार्यले टाढाबाट आएकोमा धन्यवाद प्रकट गर्नुका साथै सिमित साधन स्रोत को बावजुत पनि बेलायतबासी आम नेपालीहरुको पहुँच दूतावाससम्म पुर्याउने र हरेक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राज्यपरिषदका अध्यक्ष काशिराम भन्डारीले स्कटल्यान्डबासी नेपालीका समस्या र जनचासोका बारेमा आफ्ना भनाईहरु राख्नुभएको थियो ।

उक्त भेटघाट कार्यक्रममा उपनियोग प्रमुख रोसन खनालले नयाँ पासपोर्ट लगायत सो सम्बन्धीका अन्य कार्यमा आवश्यक पर्ने नयाँ प्रविधिले गर्दा अलि ढिला भएको तर यसै बर्षको मे २१ र २२ का दिन स्कटल्यान्डमा घुम्तिसेवा उपलब्ध गराउने कर्यक्रम रहेको जानकारी गराउनु भयो।
भेटघाटका क्रममा उहाले गत विश्व वातावरण सम्मेलनका बेला प्रधानमन्त्रीको स्कटल्याण्ड भ्रमण सफल बनाउन स्कटल्यान्ड राज्य परिषद र ब्यक्तिगत रुपमा अध्यक्ष भन्डारीले गर्नु भएको सहयोगलाई उच्च प्रसंशा गर्नु भएको थियो।

छलफलका क्रममा परिषका उपाध्यक्ष उज्वल कार्कीले नेपालबाट युके सिधै हवाई मार्ग जोड्न पाए कोबिडले थलिएको नेपाली अर्थतन्त्रमा ठूलो मद्दत पुग्ने बिचार व्यक्त गर्नुभयो ।

प्रतिनिधि मण्डलमा सहभागि परिषदकी कोषाध्यक्ष शर्मिला भण्डारीले दूतावास मार्फत स्कटल्यान्डमा सन्चालन गरिने जुनसुकै कार्यक्रममा पूर्ण सहयोग र सहभागिता हुने बताउनुभयो ।

परिषदका प्रतिनिधिहरुले आफुले गरेका कृयाकलापको जानकारी गराउने क्रममा केहिदिन अघिमात्र अध्यक्ष भन्डारी स्वयं आफै पोल्यान्ड गएर युक्रेन र रसिया युद्धबाट बिस्थापित भएका नेपालिहरुलाई स्कटल्याण्ड राज्य परिषदको तर्फबाट आर्थिक सहयोग ३ हजार पाउन्ड उपलब्ध गराएको कुरा जानकारी दिनुभयो ।