२५ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायत प्रहरीद्वारा नेपालबाट हराएका दुई मूर्ति फिर्ता

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७८, शनिबार १२:१०

लन्डन । सन् १९८० देखि १९९० को दशकमा काठमाडौंबाट हराएर बेलायतमा भेटिएका दुई मूर्ति बेलायत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले राजदूत ज्ञानचन्द्र आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
१६ औँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरण जुन १९८० देखि १९९० को दशक बीचमा काठमाडौं हनुमानढोका कुमारी बहालबाट हराएको थियो ।

यसैगरी १८ औं शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुंगाको मूर्ति काठमाडौं ओमबहालस्थित मन्जुश्री मन्दिरबाट हराएको थियो । गैरकानूनीरूपमा प्राचीन सामग्री ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट लन्डन महानगरीय प्रहरीले ती मूर्ति बरामद गरेको हो ।

कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकार र दूतावासको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गरे । डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सम्पदा फिर्ता गर्न पाउँदा खुशी लागेको बताए ।
ग्लास्गो युनिभर्सिटीमा अपराधविज्ञानकी प्राध्यापक डा इमिलिन स्मिथले नेपालको सांस्कृतिक सम्पदा फिर्ता गर्न पाएकोमा गर्व लागेको बताइन् ।
हस्तान्तरण गरिएका मूर्ति नेपालको पुरातत्व विभागमा पठाउने तयारी भइरहेको राजदूत आचार्यले बताए ।