२० बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस निर्वाचन परिचालन समितिले थाल्यो छलफल

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७८, बुधबार १२:५५

काठमाडौँ ।कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिहरूसँग प्रारम्भिक छलफल सुरु गरेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरूसँग छलफल सुरु गरेको हो ।

सत्तारुढ गठबन्धन दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय पार्टीले गरेपछि त्यसलाई कसरी व्यवस्थित गरेर जाने भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरूसँग छलफल सुरु गरिएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । बैठकमा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिबीच बलियो समन्वय गरी निर्वाचन परिचालनको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अन्तर्क्रिया गरिएको उनले बताए ।

पाण्डेले भने, ‘स्थानीय तह निर्वाचन परिचालनलाई कसरी व्यवस्थित गर्ने र केन्द्रले प्रदेश, प्रदेशले जिल्ला र जिल्लाले पालिकास्तरमा कसरी समन्वय गर्ने भन्ने विषयमा कुराकानी भएको छ । हामीले निर्वाचनका क्रममा टिकट वितरण गर्ने ठाउँहरू केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, उनीहरूका बीचमा समन्वयको स्थिति कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल गर्यौँ । र, हामी सत्तागठबन्धनमा भएका राजनीतिक दलहरूसँग तालमेलमा जाँदै छौँ । तालमेलमा जाने सन्दर्भमा त्यसका जटिलताहरू के हुन सक्छन्, व्यावहारिक जटिलता के हुन सक्छ ? त्यो विषयमा पनि प्रारम्भिक छलफल गर्र्यौं ।’

कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह निर्वाचन परिचालन गर्न उपसभापति खड्काको नेतृत्वमा समिति गठन गरेको थियो । समितिका सदस्यसमेत रहेका सहमहामन्त्री पाण्डेले बैठक सोही विषयमा केन्द्रित भएको बताए ।