७ जेष्ठ २०८१, सोमबार
Follow Us

कार्यक्रम र मेलाको आडमा अष्ट्रेलियामा ‘मानव ओसार पसार’

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७९, बुधबार ०४:५२

मानव तस्करको यतिखेर बिगबिगी

हेमन्त काफ्ले । सिड्नी । विभिन्न कार्यक्रम, मेला र महोत्सवका नाममा पछिल्लो समय अष्ट्रेलिया ‘मानव ओसार पसार’ गर्नेको एउटा महत्वपूर्ण कमाइखाने गन्तब्य बन्न थालेको छ।

सांगीतिक कार्यक्रम होस् या मेला अनि महोत्सव वा टक शो नै किन नहोस्। नेपालबाट कलाकार र सम्वन्धित ब्यक्ति बोलाउने नाममा बिचौलियाको नाम थपेर अस्ट्रेलिया छिराउने र त्यसबापत मोटो रकम लिने मानव तस्करको यतिखेर बिगबिगी छ।

कोरोनाले दुई वर्ष सीमा बन्द हुँदा गुमनाम भएका यी एजेन्टहरू यतिखेर पुनः सिड्नी वरपर सलबलाउन थालेका छन्।

केहीले कार्यक्रम गरिसके भने केहीका धमाधम पोष्टर र पर्चाहरू बजारमा छरिन थालेका छन्। समाजिक सञ्जालमा पोष्टर छरपष्ट बनाउने र प्रायोजक खोज्न हिँड्ने, कार्यक्रममै सहभागि नहुने ब्यक्तिको फोटो हालेर पोष्टर बनाउने जस्ता अनेकन तिकडम बाजी गरेर यिनीहरू आफ्नो ‘धन्दा’ चलाउन व्यस्त देखिन्छन्।

अस्ट्रेलियामा कार्यक्रमस्थलको अनुमति लिएर कलाकार बोलाउन प्रारम्भ गर्ने यिनीहरूले कहिलेकाही त भिसा मात्र लाउने र कार्यक्रमनै नगर्नेसम्मको उखरमाउलो समेत गर्न पछि पर्दैनन्।

हुन त अस्ट्रेलियामा स्थापित इभेन्ट्स कम्पनी नभएका होइनन्। तर यिनीहरू भने वर्ष वा दुई वर्षमा भब्य र सभ्य कार्यक्रमको आयोजना गर्दै आम दर्शकको चाहना पुरा गर्ने गर्छन्।

यसमा केही औंलामा गन्न सकिने इभेन्ट्स कम्पनी छन्। नेपाली टच जसले अमृत गुरूङ र नेपाल आइडल जस्तो मेघा इभेन्ट सफल गरेर सिड्नीबासीमा आफ्नो पहिचान बनाइसकेको छ।

तर केही इन्टरटेन्टमेन्ट्सका नाममा खुलेका इभेन्ट्स कम्पनीहरूमा दशैं तिहार, नयाँ वर्ष, होली, तिज या माघे संक्रान्ति। वर्षैभरी कार्यक्रम आयोजनाको प्रतिस्पर्धा सुरू भइहाल्छ।

पछिल्लो समयमा विभिन्न चलचित्र निमार्ण र छायांकनको नाममा समेत नेपालबाट मानव ओसारपसार गर्ने गरेको खुलासा भएको छ।

चलचित्र कलाकार र प्राविधिकका नाममा भगौडालाई अस्ट्रेलिया भित्र्याएर मोटो रकम असुल्ने कार्यले एकताका निकै चर्चा पाएको थियो। तर कोरोना माहामारी र बन्द सीमाले यस्ता गैर कानुनी धन्दा गर्नेलाई बुझो लगाएको थियो।

यसैबीच एकाएक सीमा खुल्नु र भिसा नीति केही लचिलो भएपछि अहिले अस्ट्रेलियामा कार्यक्रम, मेला, महोत्सव र टक शोको माहामारी बढेको छ।

इन्टरटेन्टमेन्ट र टुरिष्ट भिसामा यहाँ आएका ब्यक्ती विद्यार्थीलगायतका अन्य भिसामा ट्रान्सफर भएर कानुनी रूपमा वैध हुने हुँदा पनि यिनीहरूको रजगज बढेको हो।

नेपालबाट केही मानिस अस्ट्रेलिया छिर्नकै लागि लाखौं रकम खर्चने गर्छन्। यहाँ आएपछि केही विद्यार्थी भिसामा र केहि प्रोटेक्सन भिसा बनाएर आफ्नो कमाउधन्दा सुरू गर्छन्।

पाँच-सात वर्ष अस्ट्रेलिया बसेर कमाइ गर्न पाए राम्रै आम्दानी हुनाले पनि कतिपय नेपालीहरू अस्ट्रेलिया भित्रन बीस-पच्चीस लाख खर्चन तयार हुन्छन्। तर त्यतिनै पैसामा विद्यार्थी भएर आउन सकिने भए पनि पढाइ र पढाइका लागि योग्य नभएकाको लागि यो एउटा प्रलोभनको बाटो पनि बनेको हो।

शैक्षिक बाटोबाट बिदेशिने बाटो बन्द भएका र चिनजान तथा आफन्ती भएका कयौं मानिसहरू यसरी गलत बाटोबाट अस्ट्रेलिया छिर्ने गरेको देखिन्छ। कार्यक्रमका नाममै अस्ट्रेलिया आउने तर कानुनी रूपमा वैद्य भएर बस्ने भएकाले यिनीहरूलाई कसैले औला उठाउन सकिरहेको देखिदैन। तर सरकारी सुविधाको गलत प्रयोजन गरेको कतै प्रमाणित भए वा रकमको प्रलोभनमा मानव भित्र्याएको दसी फेला परे कडा सजायको भागिदार हुनुपर्ने हुन्छ।

सांगीतिक कार्यक्रम आयोजना हुनु र मुलुकका गहनाका रूपमा रहेका कलाकार आउनु प्रवासी नेपालीको लागि महत्वको विषय हो। यसले प्रवासमा पनि मुलुकको मायालाई जोडने काम गर्छ। तर कार्यक्रमका नाममा गैर कलाकार ल्याएर आर्थिक लाभ लिने काम हुनु हुँदैन यो मुलुकको सांगीतिक क्षेत्रमा एउटा मजाक हुने नेपाली टचका निर्देशक राजकुमार गोश्वामीले बताए।

‘राम्रा कलाकार र राम्रो इभेन्ट्सका लागि विदेशमा मानिस कुरिरहेका हुन्छन्’, गोश्वामीले अगाडि भने,‘तर कार्यक्रममा नाममा गैर कलाकार ल्याएर आर्थिक लाभ लिने काम हुनु भनेको नेपालको संगीत क्षेत्रकै मजाक हुन्छ।’

नेपाली कलाकार र चलचित्रका लागि उर्वरभूमीका रूपमा रहेको अस्ट्रेलियामा थाम्नै नसकिनेगरी आयोजना भैरहेका यस्ता कार्यक्रमका पछाडि अरु अरु के के उद्धेश्य छन् त। यहाँका प्रवासी नेपालीका लागि यी मनोरन्जनका मेला मात्र हुन कि आयोजकका लागि पैसा कमाउने खेला पनि हो। यहाँ यस्ता महोत्सव र मेलाका नाममा अरु कुनै धन्दा त भएका छैन शंका गर्ने ठाउँ निस्किएको छ। यस्ता प्रश्नहरु यतिखेर अस्ट्रेलियामा चर्को रुपमा उठने गरेका छन्।

कोटेश्वर घर भएका शिरिष शर्मा (नाम परिवर्तीत) भिजिट भिसामा अस्ट्रेलिया आए। उनलाई केही मानिसले गलत सल्लाह दिँदै प्रोटेक्सन भिसा हालिदिए। नेपालमा बालबच्चा भएका शिरिषलाई फी तिर्नु नपर्ने, जति पनि काम गर्न पाइने भन्दै एउटा एजेन्टले उक्त सल्लाह दिएका थिए।

तर परिवार छाडेर आएका शिरिषलाई पारिवारिक कामले नेपाल जानुपर्ने जरूरी भयो र गए। तर अब उनका लागि अस्ट्रेलिया आउने सबै बाटा बन्द भए। ‘त्यतिबेला जानिएन र भिसाका बारेमा पढिएन पनि अहिले आएर पछुताउँदै छु’, उनले सेतोपाटीसँग भने।

सिड्नीका युवा अभियन्ता इथान शाक्य विभिन्न इभेन्ट्स कम्पनी र संघ संस्थाले कार्यक्रम गर्दैगर्दा गलत प्रवृत्तीको बाटो अपनाउँदै आएको बताउँछन्।

‘कार्यक्रम भब्य र सभ्य भनिने कलाकार एक से एक हुने अनि हल खाली हुने दृष्य सिड्नीमा बढ्दै गरेको छ’, उनले भने, ‘यता आउने चर्चित कलाकारले पनि विदेश भन्ने बित्तीकै खुट्टा नउचाली आफू कस्तो कार्यक्रममा जाने, त्यसको व्यवस्थापकीय पक्ष र टिमको बारेमा विशेष चासो लिनुपर्ने अवस्था देखिएको छ।’

यदि कार्यक्रमका नाममा आर्थिक लेनदेन हुनेगरि कोही मानिस ल्याइएको छ र कसैले त्यसको प्रमाण दिन्छ भने अस्ट्रेलियन सरकारले मानव ओसार पसारको कसुरमा जेल तथा आर्थिक जरीवाना तोक्नसक्ने कानुनविद डा.शम्सेरसिंह थापाले बताए। ‘यस्तो बदमासीमा तीन वर्षदेखि दश वर्षसम्मको जेल सजाय हुनसक्छ’, थापाले भने।

थापाले अगाडि भने, ‘कार्यक्रम वा मेला महोत्सवका नाममा ल्याइएका व्यक्तिलाई सोही प्रयोजनमा उपयोग गरिनुपर्छ। यदि कसैले त्यसमा बदमाशी गर्छ भने त्यसले मुलुकको प्रतिष्ठामासमेत आँच पुग्छ र भविष्यमा राम्रा कलाकारलाई पनि प्रवेशाज्ञामा अप्ठयारो स्थिति आउनसक्छ।’

प्रवासमा नेपालीपन झल्कने र माया पस्कने कार्यक्रम गर्नु खुसी र गर्वको विषय हो तर यसका नाममा मानव तस्करी र भिसा लगाउने काम हुनु भनेको बेइमानी हो।