६ बैशाख २०८१, बिहीबार
Follow Us

भूतपूर्व गोर्खाहरूको पेन्सन सिधै नेपाल आउँछ: नेपाल राष्ट्र बैंक

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७९, आईतवार १९:१३

लण्डन। ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन भारतीय बैंकमार्फत नभइ सिधै नेपाल आउने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

भारतको रिजर्भ बैंकमार्फत पेन्सन नेपाल पठाउँदा नेपाललाई करोडौं रुपैयाँ घाटा भइरहेको भन्दै गोर्खा संगठनहरुले आपत्ति जनाइरहँदा राष्ट्र बैंकले त्यस्तो खुलासा गरेको हो।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले भूतपूर्व गोर्खाहरुको पेन्सन ब्रिटिश सरकारले स्ट्याण्डर्ड चार्टर्ड बैंकमार्फत् सिधै नेपाल आउने गरेको बताए। स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुख्य कार्यालय लन्डनमा रहेको छ।

ब्रिटिश सरकारले स्ट्याण्डर्ड चार्टर्ड बैंकमार्फत भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन रकम सिधै नेपाल पठाउने गरेको धेरै वर्ष भइसक्यो। अहिले यसमा कुनै समस्या छैन् सहप्रवक्ता पोखरेलले भने।

हालै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान यूके नेपालका प्रमुख संयोजक सन्तोष थलङले लन्डनस्थित नेपाली दूतावासमार्फत अर्थमन्त्रीलाई एक पत्र पठाउँदै दशकौंदेखि स्टर्लिङ पाउण्डबाट भारु (भारतीय मुद्रा) हुँदै नेपाल आउने भूतपूर्व गोर्खाहरुको पेन्सन स्टर्लिङ पाउण्डमा सिधै नेपाल राष्ट्र बैंकमै आउने व्यवस्था मिलाउन माग गरेका थिए।