काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता बढेको भन्दै देशलाई निकास दिने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ अघि बढिरहेको टिप्पणी गरे । यस्तो अवस्थामा राप्रपालाई आगामी चुनौती सामना गर्न सक्ने र देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
लिङ्देनले पार्टीको परम्परागत कार्यशैलीबाट अब संगठन बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबैले आफूलाई बदल्नुपर्ने बताए । आगामी महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गरे ।
‘नेपालको राजनीति एउटा अँध्यारो सुरुङमा प्रवेश गरेको छ । अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिरहेका छन्,’ उनले भने, ‘यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने कुनै शक्ति र पार्टी नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो ।’
उनले राप्रपालाई देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा तयार पार्न संगठन विस्तार र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए । अहिले पार्टीमा आबद्ध कार्यकर्तामै सीमित भएर संगठन ठूलो बन्न नसक्ने उल्लेख गर्दै उनले सबैका लागि पार्टीको ढोका खुला गर्नुपर्ने धारणा राखे ।
‘हामी अहिले जति मान्छे छौँ, त्यति मान्छे मिलेर मात्रै राप्रपा हुँदैन । हामीले अरू मान्छे नबढाउने, आम मान्छेको पार्टीका रूपमा राप्रपालाई विकसित नगर्ने, तर भएका मात्रै अँगालो मारेर बस्यौँ भने राप्रपा ठूलो हुन्छ त ?’ उनले प्रश्न गरे ।
लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा स्थापित गर्न पनि संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको बताए । पार्टीले आफ्नो सैद्धान्तिक मान्यतामा एकताबद्ध रहँदै व्यावहारिक रूपमा नयाँ ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
आसन्न महाधिवेशनबाट पार्टीलाई पुनर्गठन गर्ने अठोटका साथ तयारीमा जुट्न आग्रह गर्दै उनले राप्रपालाई आगामी राजनीतिक चुनौती सामना गर्न सक्षम बनाउनु सबै नेता तथा कार्यकर्ताको जिम्मेवारी भएको बताए ।
उनले महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी संगठन विस्तार, कार्यशैली परिवर्तन र पार्टीलाई देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा विकास गर्ने अवसर बनाउनुपर्नेमा जोड दिए ।