२७ श्रावण २०८२, मंगलवार
Follow Us

एनआरएन नागरिकता : साविकको नागरिकता खोसिने, नेपाली भाषा अनिवार्य

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७९, बिहीबार १५:३४

लण्डन । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकता माथिको तयार गरेको संशोधन प्रस्तावमा साविकको नागरिकता खोसिने प्रावधान राखिएको छ ।

संसदको चालु अधिवेशनमा प्रस्तुत हुने अपेक्षा गरिएको विधेयकको संसोधित धारा ६ मा साविकमा नेपालको नागरिकता लिएको व्यक्तिलाई गैर आवासीय नेपाली नागरिकता दिंदा निजले पहिला लिएको नेपाली नागरिकताको प्रमाणपत्र खिचेर मात्र एनआरएनए नागरिकता दिने प्रावधान राखिएको छ। ।

यसअघि समितिको बैठकले गैरआवासीय नेपाली (एनआरएनए) ले उठाएका केही चासो र गुनासो समेतको सम्बोधन गर्दै सो संसोधन प्रस्ताव पारित गरेको हो ।

संसोधन प्रस्तावको दफा ७ (क) देखी (ङ) सम्म गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने भन्ने विषय बस्तु माथि छलफल गरेर टुंगो लागेको थियो ।

गैरआवासीय नेपालीलाई दिइने नागरिकताका सम्बन्धमा विधेयक मस्यौदामा राजनीतिक अधिकारबाहेकको नागरिकता दिने भन्ने शब्दावली उल्लेख गरिएको थियो ।

तर सो शब्दावलीलाई हाल परिमार्जन गरेर संविधान बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेछन’ भन्ने व्यवस्था गरिएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले सरकारद्धारा प्रस्तावित वर्तमान विधेयकले गैरआवासीय नेपाली संघका सबै अधिकार नसमेट्ने बताएका छन् । उनले संसदमा प्रस्तुत हुने विधेयक अन्तिम टुंगो नलागे सम्म चुप लागेर बस्न नहुने बताए ।

उनले विदेशमा ८ प्रकारका गैरआवासीय नेपाली भएकोले ती सबैलाई नागरिकता ऐनले नसमेट्ने बताए ।

यस्तै गैरआवासीय नेपालीले नागरिकता लिनलाई गृह मन्त्रालय नै आउनुपर्ने र त्यसमा पनि नेपाली नागरिकता प्रमाणपत्र त्यागेको व्यहोराको पत्र विदेशबाटै ल्याएर पेश गर्नुपर्ने विधेयकमा उल्लेख थियो ।

उनका अनुसार अहिले गृह मन्त्रालय वा गृह मन्त्रालय मातहताका निकायहरुबाट गैरआवासीय नागरिकता लिन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि विदेशमा नागरिकता त्यागेको भन्ने प्रमाण ल्याउनु पर्ने नभई स्वदेशबाटै सो व्यहोराको पत्र लिएर पेश गर्नुपर्नेछ ।

प्रस्तावित विधेयकमा नेपालमा बोलिने कुनै मातृभाषा अनिवार्य बोल्न जानेको हुनु पर्ने बाध्यात्मक व्यवस्था राखिएको छ । संसदमा प्रस्तुत हुने सो विधेयकमा रहेका अप्ठ्यारा व्यवस्थाहरुलाई संसोधन गर्न गैरआवासीय नेपाली संघले लविङ सुरु गरेको छ । त्यसको लागि संघका अध्यक्षद्धय कुल आचार्य र डा. बद्री केसीले काठमाण्डौंमा सरोकारहरुसंग छलफल सुरु गरेका छन् ।


धेरै पढिएको