२७ श्रावण २०८२, मंगलवार
Follow Us

घुस दिएर लाइसेन्स लिनेको बिचल्ली

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०८२, मंगलवार ०४:५७

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण नगरी घुस दिएर लाइसेन्स लिएकाहरू यतिबेला बिचल्लीमा परेका छन् । न लाइसेन्स हातमा न रोजगारीको अवस्था रहँदा उनीहरूको बिचल्ली भएको हो । मोटो रकम दिएर लाइसेन्स लिएकाहरूको लाइसेन्स नवीकरण नहुँदा उनीहरूको पेसा पनि सकिएको छ ।

सिन्धुपाल्चोक ठुलो सिरुबारीका अनिल श्रेष्ठले २०७५ सालमा बिचौलियामार्फत ४० हजार रुपियाँ दिएर कार, जिप, ट्रक, बस र लरीको लाइसेन्स निकाल्नुभएको थियो । पाँच वर्षसम्म काठमाडौँ चक्रपथमा गोकर्णेश्वर यातायात चलाउनुभयो । अहिले लाइसेन्स नवीकरण गर्न जाँदा ढड्डामा कुनै विवरण भेटिएन । बरू उहाँको लाइसेन्स नम्बर ७८०५५० हरिभक्त खत्रीले लिएको ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स रहेछ । खत्रीले २०५९ कात्तिकमा लिएको लाइसेन्स श्रेष्ठलाई नामसारी गरिदिएका रहेछन् ।

लाइसेन्स नवीकरण नभएपछि श्रेष्ठ अहिले बेरोजगार हुनुहुन्छ । लाइसेन्स निकाल्न पैसा दिएका बिचौलियालाई खोजिरहनुभएको छ । पैसा खुवाएरै नवीकरण गर्न सकिन्छ कि भनेर एकान्तकुना कार्यालयका बिचौलियालाई नभेटेको होइन तर ५० हजार रुपियाँ लाग्छ भनेपछि पैसा दिन नसकेर गाउँ फर्किनुभयो । परीक्षा दिएर नयाँ लाइसेन्स निकाल्नका लागि पनि २०८५ सालसम्म नमिल्ने भएपछि गाउँ फर्किनुको विकल्प नभएको उहाँको भनाइ छ ।

श्रेष्ठले भन्नुभयो, “त्यतिबेला परीक्षा दिएको हो तर ठुलो गाडीको पनि सबै एकै पटक लाइसेन्स आउँछ भनेपछि ४० हजार दिएको हो । अहिले नवीकरण गर्न जाँदा ढड्डामा रेकर्ड भेटिएन । नवीकरण नहुने भयो । जागिर पनि गयो । अब नयाँ निकाल्न पनि २०८५ सालसम्म कुर्नुपर्ने भयो ।” बिचौलियाको घर, ठेगाना थाहा नभएकाले खोज्न पनि गाह्रो भएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो समस्या भोग्नु पर्छ भन्ने पहिल्यै थाहा पाएको भए पैसा दिने नै थिइनँ । ब्याजमा ऋण खोजेर दिएको हो । अहिले पैसा पनि गयो, जागिर गयो, लाइसेन्स गयो, समय पनि खेर गयो जस्तो लाग्छ । यता न उताको भइयो ।”

श्रेष्ठ मात्र होइन, यस्ता समस्या लिएर यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुनामा वर्षमा सयौँ आउने गरेका छन् । परीक्षा नदिई घुस खुवाएर अरूको लाइसेन्स नम्बरमा आफ्नो लाइसेन्स लिएका नवीकरण गर्न जाँदा बिचल्लीमा पर्ने गरेका छन् । कर्मचारीको मिलेमतोमा बिचौलियाले विदेश गएर १० वर्षसम्म नफर्किएका, मृत्यु भएका वा दुई पटकसम्म नवीकरण गर्न नआएकाको लाइसेन्स नम्बर नामसारी गरिदिँदा समस्या भोग्नु परेको छ ।

एकान्तकुना कार्यालयका अनुसार पाँच/सात वर्षअघिसम्म यातायात व्यवस्था विभागमा विदेश गएर नफर्किएका लाइसेन्सवाहक, मृत्यु भएका र लामो समय नवीकरण गर्न नआएकाको खोजी गर्न गोप्य रूपमा शाखा नै सञ्चालनमा थियो । त्यस्ता लाइसेन्सवाहक नभेटिए बाहिर बिचौलियासँग साँठगाँठ गरी अनिल श्रेष्ठ जस्ता युवालाई लाइसेन्स बिक्री गरिन्थ्यो । श्रेष्ठको जस्तै समस्या हुनेलाई अझै पनि पैसा असुल्ने काम रोकिएको छैन । यसको सिकार उहाँ श्रेष्ठ नै हुनुहुन्छ । भन्नुभयो, “यातायात कार्यालयमा जाँदा अरूको लाइसेन्सको हो नवीकरण हुँदैन भन्यो तर फेरि बाहिरका मान्छेलाई बुझेको ५० हजार दिए हुन्छ भन्छन् ! पैसा दिएर नवीकरण हुँदो रहेछ त ! कानुन भनेको हामी जस्ता मजदुर र पैसा नहुनेलाई त लाग्दो रहेछ नि ।”

तर एकान्तकुना कार्यालयले भने हाल त्यस्तो प्रकारको नामसारी नगरिएको दाबी गरेको छ । एकान्तकुना कार्यालयका प्रमुख केशवकुमार जिएमले भन्नुभयो, “नामसारी गरिएको लाइसेन्स अझै पनि पैसा दिएपछि हुन्छ भन्ने भ्रम छरिएको रहेछ । बिचौलियाका हल्लाको पछि नलाग्न अनुरोध गर्छु । यो कार्यालयबाट यसरी नामसारी गर्ने काम पूर्ण रूपमा बन्द छ । हामीबाट हुँदैन, सम्भव छैन । त्यस्तो भेटिए कारबाही हुन्छ ।”

२०७८ सालपछि यसरी नामसारी गर्ने काम रोकिएको कार्यालयले जनाएको छ । पछिल्ला नामसारी २०७८ सालमा भएको रेडर्क देखिएको छ । २०७४/७५ सालमा यस्ता किसिमको नामसारी धेरै भएको देखिन्छ । हाकिमले करार कर्मचारीलाई प्रयोग गरेर नामसारीको काम हुने गरेको थियो । यस्ता गैरकानुनी कार्य रोक्ने र कारबाही गर्ने कानुनले नै हो । अर्कोतर्फ नयाँ प्रविधिबाट पनि गैरकानुनी कामलाई नियन्त्रण गर्न सकिने प्रमुख जिएमको भनाइ छ । उहाँका अनुसार हाल बागमती प्रदेश सरकार इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडिएल) प्रणालीमा जाँदै छ । अब सबै काम अनलाइनबाट हुने भएकाले यस्ता गतिविधि नियन्त्रण हुने कार्यालयको दाबी छ

धेरै पढिएको