४ असार २०८१, सोमबार
Follow Us

जुनसुकै केस नम्बर भएका डिभी विजेताले अगस्तमा भिसा पाउने, हट्यो समयसीमा

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७९, शनिबार ११:४७

काठमाडाै‌ । आगामी अगस्तमा सबै डिभी विजेता नेपालीहरुको भिसा करेन्ट हुने भएको छ । अर्थात् जुनसुकै केस नम्बर भएका डिभी विजेताहरुले पनि अगस्तमा भिसा पाउन सक्नेछन् । अगस्तमा विश्वका सबै डिभी विजेताको भिसा करेन्ट रहेको छ भने चालु आर्थिक बर्षका डिभी विजेताहरुले सेप्टेम्बरभित्र भिसा लिइसक्नुपर्ने प्रावधान रहेको छ । यद्यपी

जुलाईमा भने डिभी विजेतालाई भिसा करेन्ट हुँदा एसियामा नेपालीलाई ६३ सयको सिमाबन्दी तोकिएको छ । जुलाई महिनामा विश्वभरका सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा नेपाल र इजिप्टलाईमात्र सिमाबन्दी तोकिएको हो । एसियामा सबै देशका डिभी विजेताहरुको भिसा करेन्ट हुँदा नेपालीलाईमात्र सिमाबन्दी तोकिएको हो ।

यस्तो सिमाबन्दी जुनका लागि पनि तोकिएको छ। जुन महिनामा ५७ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा पाउन सक्छन् ।

डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी र फेब्रअुरीमा भिसा दिइएन । मार्चबाट अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता लिन सुरु गरेको हो ।

आर्थिक बर्ष सन् २०२२ का लागि गत मे ८ मा डिभी लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् । उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।

सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरुसहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु विश्वभरबाट कुल १ करोड ३१ लाख ९१ हजार २ सय ९६ जना रहेका थिए ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी २०२२ का विजेताहरुका लागि केन्टकी सर्भिस सेन्टरमा डीएस २६० आप्रवासी भिसा आवेदन फर्ममात्र बुझाए पुग्ने व्यवस्था गरेको छ । उनीहरुले आफ्नो र साथमा अमेरिका आउने परिवारका सदस्यहरुको डीएस २६० फर्म बुझाउनुपर्ने र अन्य थप कागजात आवश्यक नपर्ने जनाइएको छ ।

केससँग सम्बन्धित सबै आवेदकको डीएस २६० आप्रवासी भिसा आवेदन फर्म प्राप्त गरिसकेपछि केन्टकी सर्भिस सेन्टरले भिसा अन्तरवार्ता तय गर्नेछ । दूतावास वा कन्सुलेटमा भिसा अन्तरवार्ता तय गर्नका लागि आवेदकले केन्टकी सर्भिस सेन्टरमा थप कागजातहरु बुझाउन नपर्ने विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

थप कागजातहरु दूतावास वा कन्सुलेटमा अन्तरवार्ताका समयमा संकलन गरिने भएको छ । अमेरिकी कानूनले भिसाको योग्यता पूरा गर्नका लागि आवेदकले सबै आवश्यक कागजातहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

आवश्यक कागजात नबुझाएको खण्डमा दूतावास वा कन्सुलेटले भिसा अस्वीकृत गर्ने जनाइएको छ । कागजातको अभावका कारण भिसा अस्वीकृत भएको अवस्थामा पछि कागजातहरु पेश गरेर भिसा प्राप्त गर्नभने सकिने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । आवश्यक सबै कागजातका साथ अन्तरवार्ताकै समयमा भिसाका लागि योग्यता प्रमाणित गर्न सुझाव दिइएको छ ।

अन्तवार्ताभन्दा अगाडि भिसा आवेदकले राम्रोसँग तयारी गरेको र आवश्यक कागजात सुरक्षित रहेको सुनिश्चित गर्न केन्टकी सर्भिस सेन्टरले आवेदनहरु पूर्व प्रकृयामा लैजादै आएको छ । यसले कन्सुलर सेक्सनको प्रभावकारिता बढाउनुका साथै आवश्यकहरुलाई आफ्नो योग्यता प्रमाणित गर्न सहयोग गरेको थियो ।

केन्टकी सर्भिस सेन्टरमा कागजात प्रमाणिकरण गर्दा लामो समय लाग्ने भएपछि डिभी विजेताहरुले समयमा भिसा पाउन नसकेको अवस्थामा सबै उपलब्ध डिभी अप्वाइन्टमेन्टहरुको प्रयोग गर्नका लागि नयाँ नियम ल्याइएको हो । यसलाई पाइलट कार्यक्रमका रुपमा ल्याइएको र बर्षको अन्तिममा कार्यक्रमको लागत र लाभबारे विश्लेषण गरिने जनाइएको छ ।