८ बैशाख २०८१, शनिबार
Follow Us

लन्डनमा च्यारिटी फुटबल प्रतियोगिता

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७९, आईतवार १९:१०

सुरेन्द्र सुनुवार ।

लन्डन । नेपलिज क्रिश्चियन चर्चेस यूकेले पहिलो पटक च्यारिटी फुटबल कप आयोजना गरेको छ ।

११ टिमबीच नकआउट छनोटमा लन्डन फेल्थाममा आयोजित उक्त ‘इन्टर चर्चेस लिग कम नकआउट वान डे टुर्नामेन्ट’ मा एनएलसी अक्सफोर्डले एनसीसीसीए हन्स्लोलाई दुई गोल गरि च्यारिटी कप जित्यो । उक्त टिमले ५ सय पाउण्ड नगद, शिल्ड र ट्रफी जितेको हो ।

प्रतियोगितामा रनरअप भएको एनसीसीसीए हन्स्लोले तीनसय पाउण्ड र ट्रफी प्राप्त गरेको छ ।

खेल हेर्न यूकेका चारवटै राज्यका नेपाली क्रिश्चियन धर्मावलम्बीहरु सहभागी थिए ।

बिहान १० बजे शुरु प्रतियोगिता सफल बनाउन एल्डर देव गुरुङको संयोजनमा १३ सदस्यीय खेल व्यवस्थापन समिति बनाइएको थियो । फिफा क्वालिफाइड रेफ्री गणेश थापा र अन्य रेफ्रीहरु एल्डर आकाश गुरुङ र सुभाष लिम्बुले निष्पक्ष खेल खेलाएका थिए । व्यवसायिक खेलाडी भएका कारण खेल रोचक बनेको थियो ।

खेल व्यवस्थापन समितिका संयोजक देव गुरुङले च्यारिटी कपले पारिवारिक पुनर्मिलनमात्र नभएर खेलाडीको मनोवल तथा प्रतिभा उजागर गरेको बताए । पहिलो च्यारिटी कप सोचेभन्दा बढी सफल भएको जनाउंदै संयोजक गुरुङले सबैप्रति आभार समेत व्यक्त गरे ।

प्रतियोगिता महोत्सवकै रुपमा आयोजना गरिएको थियो । बीबीक्यूसहित विभिन्न खाना, गीत संगीत र नृत्य, बालबालिकाका लागि बाउन्सी क्यासल खेल आदि कार्यक्रमका आकर्षण थिए ।

अन्त्यमा एल्डर टंक राईले धन्यवादसहित खेल कार्यक्रम समापन गरेका थिए ।