१५ जेष्ठ २०८१, मंगलवार
Follow Us

थाइल्याण्डमा ८० हजार नेपाली, राजा बिरेन्द्रले दिलाएका थिए परिचयपत्र

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७९, सोमबार २०:१८


बिना पोखरेल ।

बैंकक । थाइल्याण्डमा बसोबास गर्ने नेपालमूलका नेपालीभाषी नेपालीहरुको इतिहास लगभग नौं दशक बर्षको रहेको पाइन्छ । दोस्रो विश्व युद्घताका नेपालबाट भारत म्याम्यार हुँदैं थाइल्याण्डको सीमावर्ती क्षेत्रमा पर्ने कन्चनावुरी जिल्ला, थम्फापोङ शहरको पिलोक भन्ने गाउँमा सीसा फलाम माइन खानीको रोजगारीका रुपमा प्रवेश भएको इतिहास रहेको छ ।

थाइ म्यान्मारको सीमावर्ती क्षेत्रमा पर्ने लोहा सीसा माइन आदि धातु निस्कने गाउँको नामहो पिलोक । यहीँ पिलोक बाट नेपालीहरु थाइल्याण्डका विभिन्न शहरहरुमा प्रवेश गरेको पाइन्छ ।

जापानी युद्घपूर्व र युद्घपछि पनि ओहोर दोहोर चलेको नाकाहो पिलोक । यहि गाउँ थाइल्याण्डमा नेपालीहरुको प्रवेश विन्दुको रुपमा चिनिन्छ । यसरी नेपाल देखि भारत, भारत देखि म्यान्मार, म्यान्मारबाट रोजगारीकै सिलसिलामा पिलोकको नाका हुँदैं थाइल्याण्ड प्रवेश गरेका नेपालीहरुको नौ दशक लामो इतिहास रहेको पाइन्छ ।

दोस्रो विश्व युद्घ पछि देशहरु स्वतन्त्र भए । आ–आप्mना देशका नाकाहरु बाँधिए । थाइल्याण्डमा प्रवेश गरेका नेपालीहरु यतै बस्ने निर्णय गरे, यसरी रहदै बस्दै जाँदा देशमा नाकरिकता प्रमाणपत्रहरु खोजी हुन थाल्यो ।

नेपालीहरु सित म नेपाली हुँ भन्ने सम्मको पनि कुनै किसिमको कागज वा प्रमाण पत्र साथमा थिएन । नेपालीहरु देश विहीन र नागरिकता प्रमाणपत्र विहीन गैर नेपाली नागरिक हुन पुगे । यस्तो विकट परिस्थितिमा दैव बनेर नेपालका स्वर्गीय नरेश श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव थाइल्याण्डको भ्रमणमा सवारी भयो ।

थाइल्याण्डका नवौं थाइ नरेश र नेपाल नरेश मौसूफ सरकारबीच र दुई देशको बीच मैत्रीपूर्ण सम्बन्ध भयो । यसै भ्रमणको सिलसिलामा थाइ आप्रवासी नेपालीहरुले नेपाली राजदूतावासमा नागरिकताको लागि निवेदन चढाए ।

नेपाली राजदूतावासको नेतृत्वमा यी नेपाली भाषी नेपाली मूलका नेपालीहरु हुन भन्ने प्रमाण गरि सन् १९८७ मा नेपालीहरुले शरणार्थीका रुपमा अस्थायी ग्रीन कार्ड प्राप्त गरे ।
लगभग पन्ध्र बर्ष पछि सामाजिक अभियन्ता अग्रगन्य व्यक्तित्वहरुको पहल र नेपाली राजदूतावासको पहलमा सन् २००१ बाट अस्थायी ग्रीन कार्डबाट थाइ नागरिकको रुपमा नागरिकता प्रमाण पत्र प्राप्त गरे।


मन्दिरको सम्बन्धमा

थाइ नेपाली समाजको ऐतिहासिक पृष्ठभूमिमा तीसौं वर्ष पूर्वबाट स्थापना गरिएको सम्पूर्ण नेपालीहरुको धार्मिक एवं आध्यात्मिक आस्थाको केन्द्र विन्दु मानिने बैंकक राजधानी स्थित श्री त्रिनाथ देवालय मन्दिर सन् १९९३ तथा सम्वत् २०५० को बैशाख पूर्णिमाको पवित्र दिनमा स्थापना भएको हो ।

सामाजिक अभियन्ता अग्रगन्य व्यक्तित्व महानुभावहरुको दूरदर्शीताको चिन्तन मन्थन द्वारा स्थापना भएको श्री त्रिनाथदेवालय सम्पूर्ण थाइ बासी नेपालीहरुको परिचायक सर्व प्रथम स्थापित सामाजिक पहलको पहिलो कदम मानिने समस्त थाइ नेपालीहरुको धरोहरका रुपमा रहेको साझा सनातन धर्मको अभिचल धार्मिक स्तम्भ हो ।

यस संस्थाका परियोजनामा विविध धार्मिक, सामाजिक, साँस्कृतिक र शैक्षिक क्रियाकलाप संगै राष्ट्रहित, लोकहित, जनहित, जातिहितका तमाम कल्याणकारी परोपकारका विविध अनुष्ठान सहित सेवाकार्यहरु सम्पन्न गर्दै आएको छ ।

भविष्यमा पनि यसरी नै गर्दै जाने आफ्नो कत्तव्र्य सम्झेको छ । यहाँबाट सम्पादन हुने क्रियाकलापहरु धार्मिक चाडपर्व, व्रत पूजापाठ, यज्ञ अनुष्ठा, ब्रतवन्ध, विवाह, योग, ध्यान साधना, सत्संग, प्रवचन, सप्ताहपुराण तथा संस्कार र संस्कृतिहरु पर्दछन् ।


दैनिक संचालनमा पाठपूजा, स्त्रोतपाठ, रुद्रीपाठ, साँझविहान आरती तथा साप्ताहिक मासिक सत्संग र वार्षिक परिआउने ठूलासाना चाडपर्वहरु सम्पादन गर्दै ल्याएका छौं भने नवराीत्र दशैं, तिहार, जन्माष्टमी, शिवरात्रि, रामनवमी जस्ता ठूलाठूला पर्वहरु भव्यताका रुपमा मनाइने गरिन्छ ।

मन्दिर स्थापना भएबाट आजसम्म नित्यपाठपूजा,भजनकीर्तन, सत्संग, र वर्षदिन भित्रपर्ने चाडपर्वहरुका साथै विभिन्न सामाजिक धार्मिक, साहित्यिक, साँस्कृतिक कार्यक्रमहरु र धार्मिक सम्मेलन, साहित्य सम्मेलन, सभा सम्मेलनहरु सफलता पूर्वक सम्पन्न गर्दै गतिसिलताका साथ मन्दिरको विधान अनुकुल कार्य सञ्चालन हुँदै आएको छ ।

हाम्रा ती अग्रज कार्यकर्ताहरुले भाषा, धर्म, संस्कार, संस्कृति, परम्परागत मूल्य, मान्यताको संरक्षण र सम्वर्धनका लागि स्थापना गरिएको थाइल्याण्ड बासी नेपाली गोर्खालीहरुका लागि आस्थाको केन्द्र विन्दु मानिने पहिलो मन्दिर हो । त्यो समयमा नेपाली जनआवादी निकै कम थियो ।

रोजगारीकालागि थाइल्याण्ड छिरेका नेपालीहरुको जनजीवनको अवस्था पनि धेरै कठिनाइ र संघर्षमय थियो । आर्थिक समस्या, भाषाको समस्या, नागरिकताको समस्या, काम गर्ने पासको समस्या, बस्ने खाने ठाउँको समस्या यी विभिन्न समस्याको जीवनशैलीमा पनि आफ्ना भावी सन्ततिको र भविष्यको सुन्दर समाजको परिकल्पना गर्दै भाषा संस्कार र जातिय पहिचान गुमेर नजाओस भन्ने हेतुले एउटा सामाजिक थलोको रुपमा स्थापना गरिएको मन्दिर आज नेपालीहरुलाई एकजुट र संगठन गराउने एउटा नमुनाको रुपमा रहेकोछ ।
यो मन्दिर सामाजिक थलोको रुपमा थाइ सरकारमा दर्ता भएको सम्पूर्ण नेपाली गोर्खालीहरुको निजि सम्पदा हो । यहाँ आएर सबैले पूजापाठ, प्रार्थना, हवन, ब्रतवन्ध, विवाह संस्कार आदि धार्मिक क्रियाकलाप र सामाजिक कार्य गर्न सकिनेछ ।

प्रतिदिन यस मन्दिरमा पूजापाठ रुद्राभिषेक, भगवानका श्रीविग्रहमा दिव्य आरती शंखघण्टवादन सहित विश्वशान्ति राष्ट्रशान्ति जनहित र सबैको शान्ति उन्नती प्रगतिको लागि मंगल प्रार्थना समेत गरिन्छ ।

प्रदेशमा यिनै मन्दिरको माध्ययमबाट भाषा, साहित्य, धर्मसंस्कार, संस्कृति र हाम्रा मूल्यमान्यताको प्रचारप्रसार र संरक्षण गर्ने थलोको रुपमा रहेको छ ।

नेपाली समूदायको विकास संगसगै थाइल्याण्डका विभिन्न शहरहरुमा नेपालीहरुको बसोबास रहेको छ । जस्तै बैंकक, फुकेट्, चियाङमाई, होहिन्, पत्तया, मेसट्, मेसाई, कसोमोइ, क्राबी, र खौलाख आदि शहरहरुमा जमेररमेर बसेका छन् । जहाँ जहाँ नेपालीहरुको बाहुल्य छ त्यहाँ त्यहाँ प्रार्थना र भेटघाट गर्ने थलोको रुपमा मन्दिर रहेका छन् ।

साथै थाइल्याण्डका विभिन्न शहरहरुमा रहेका मठमन्दिरहरु नेपालीहरुलाई जोड्ने सेतुका रुपमा महत्वपूर्ण भूमिका रहेको छ । थाइल्याण्डमा नेपालीहरुको जनसंख्या ८० हजारको हाराहारी मा रहेको छ ।

मठ मन्दिर देवालय विद्यालय पाठशाला गुरुकुलहरु शुद्ध सँस्कृतिको पहिचान हो । प्रवासी नेपालीहरुका लागि अस्तित्वको केन्द्र विन्दु हो ।

धर्म संस्कार र अध्यात्मको धरोहर हो । जातीयताको गौरव बढाउने तिलक स्वरुप संस्थान हो । तसर्थ गुरुकुल मन्दिर देवालयहरुलाई अझ दिगो विकास र बलियो बनाउन सम्पूर्ण नेपालीहरुको कर्तव्य हो ।

मन्दिर व्यवस्थापन र कोष सम्बन्धमा भक्तजन, दर्शनार्थी, व्यक्तिगत, पर्व सम्पादन, दानपेटीका, धर्मदान, विवाह र ब्रतवन्ध आदि दान स्वरुप प्राप्त आयबाट मन्दिर संचालन भएको छ । मन्दिरको मासिक खर्च १८ देखि २० हजार सम्म रहेको छ ।

मूल समिति र संचालन समिति तथा आवश्यकता अनुरुप पर्व समिति गठन गरि कार्य संचालन गर्ने व्यवस्था रहेको छ । प्रत्येक २ वर्षमा सनातन धर्ममा आस्थावान र परिपक्व व्यक्तिलाई अध्यक्ष पदमा निर्वाचन गरिने व्यवस्था छ ।

थाइल्याण्डको नेपाली दूतावास यस मन्दिरको संरक्षकको रुपमा रहेकोछ । मन्दिरबाट समय समयमा नेपाल तपोभूमिबाट धर्मगुरुहरुलाई निमन्त्रणा गरि सप्ताहज्ञान, महायज्ञ र कथा प्रवचन साथै थाइल्याण्ड देशव्यापी धर्मजागरण अभियान समेत गर्ने गरेको छ ।

मन्दिरका आगामी योजनाहरु
१. देवालय अझ फराकिलो बनाउन संलग्न घर जग्गा पाएको खण्डमा खरिद गर्ने ।
२. पाकशाला, अतिथि, गुरुजन निवासकालागि र दुःख परिआएमा आश्रय दिन सकिने गरी एउटा छुटै भवन खरिद गर्ने योजना रहेको छ । यो योजनाका लागि आर्थिक दान संकलन भइरहेको छ ।

(पोखरेल श्री त्रिनाथ देवालय सञ्चालन समितिका अध्यक्ष हुन् ।)