३० असार २०८२, सोमबार
Follow Us

८२ वर्षिय चित्र बहादुर केसीलाई एमाले उम्मेदवार डा. सूर्य पाठकको चुनौती

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७९, बिहीबार २०:०९

‘बुढो भएँ’ भनेर ०७४ को निर्वाचन लडेनन्, ८२ वर्षमा उम्मेदवारी दिए’

वलेवा । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा बाग्लुङ १ मा रोचक प्रतिस्पर्धा हुने भएको छ ।

लगातार १७ वर्षसम्म संसद्मा उपस्थिति जनाएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ‘बुढो भएँ’ भनेर ०७४ को निर्वाचन लडेनन्,बामगठबन्धनबाट राजमोकी उपाध्यक्ष दुर्गा पौडेल प्युठानमा चुनाव लडिन् र जितिन । तर, यसपटक भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग गठबन्धन बनाएर ८२ वर्षीय केसी बाग्लुङ – १ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

यो क्षेत्रमा अघिल्लोपटक राजमोकै सहयोगमा नेकपा एमालेका सूर्यप्रसाद पाठकले जितेका थिए । एमालेले सत्ता गठबन्धनका केसीविरुद्ध उनै पाठकलाई उभ्याएको छ । यसपटक केसी र पाठकको भिडन्त रोचक हुन सक्ने देखिएको छ । बाग्लुङ – १ को चुनावी मैदान केसीका लागि नयाँ भने होइन । उनको पार्टी जनमोर्चाले ०५१ बाट आमनिर्वाचनमा भाग लियो ।

पहिलो चुनावमै जनमोर्चाबाट उनी उम्मेदवार थिए । ०५६ को निर्वाचनमा उनले एमालेसँगकै तालमेलमा चुनाव जितेका थिए । ०६४ मा भने उनले राजमोबाटै चुनाव जिते । ०७० भने उनी समानुपातिकतर्फबाट संविधानसभामा प्रतिनिधित्व गरे ।

राजमोबाट मन्त्री बन्ने एक्ला उनी ०७२ मा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसमेत भए । यसपटक बाग्लुङ – १ मा केसी आफ्नो पुरानो विरासत फर्काउने दाउमा छन् । तर, आफ्नो जित दोर्होयाउन लागेका पाठक केसीका लागि चुनौती बन्न सक्छन् । पाठकले ०७४ मा कांग्रेसकी चम्पादेवी खड्कालाई पराजित गरेका थिए । त्यसबेला पाठकले ३३ हजार ६५७ मत ल्याउँदा खड्काले २० हजार ६१६ मत पाएकी थिइन् ।

गण्डकी प्रदेशका ११ जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् । यसपटक यहाँ पनि अन्य प्रदेशहरूमा जस्तै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले १२ क्षेत्रमा उम्मेदवारी दिएको छ भने नेकपा माओवादी केन्द्रले ४ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १–१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । नेकपा एमालेले भने सबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको छ । उम्मेदवारी दर्तापछि दलहरू प्रचारमा लागिसकेका छन । यहाँ रोचक र चर्चित नेताहरूबीचको प्रतिस्पर्धा हुने केही क्षेत्रहरूको चर्चा गरिएको छ ।

धेरै पढिएको