निर्वाचन आयुक्तको मोबाइल जफत
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिमा आइतबार दिउँसो ४ बजेसम्म प्राप्त विवरणअनुसार अध्यक्ष पदका उम्मेदवारमा एनआरएनएका पूर्व आइसीसी सदस्य राजेन्द्र पुडासैनी, एनआरएनए स्कटल्याण्ड राज्य परिषद्का पूर्वअध्यक्ष तथा व्यवसायी कासीराम भण्डारी, यूकेका वर्तमान उपाध्यक्ष मनिष क्षेत्री र महासचिव गोविन्द खरेल रहेका छन्। उनीहरूले आफ्नो उम्मेदवारी दर्ता भइसकेको नेपालब्रिटेन डटकमसँग पुष्टि गरेका छन्। भण्डारी एनआरएनए स्कटल्याण्डको तर्फबाट साझा उम्मेदवारको रूपमा उठेको बताइएको छ।
निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा डा. रक्षा थापा, तिलक भट्टराई र शम्भु अर्यालले उम्मेदवारी दिएका छन् भने आइसीसी सदस्य पदमा देउमान इजमलगायतको उम्मेदवारी परेको छ। उम्मेदवारी दर्ता आइतबार साँझ ५ बजेसम्म खुला रहने समितिले जनाएको छ।
तर निर्वाचन समितिले उम्मेदवारी प्रक्रिया पारदर्शी बनाउनुपर्नेमा पत्रकारलाई सूचना संकलन गर्नसमेत कठिन बनाएको भन्दै आलोचना भएको छ। समितिले आफ्ना सदस्यहरूको मोबाइल फोन जफत गरेर राखेको र उम्मेदवारहरूको नामावली ५ बजेपछि मात्रै सार्वजनिक गर्ने बताएको छ।