११ बैशाख २०८१, मंगलवार
Follow Us

सिटीलाई लिभरपुलले हरायो

नेपालब्रिटेन संवाददाता
३१ आश्विन २०७९, सोमबार ०४:०७

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीको अपराजि यात्रामा लिभरपुल तगारो बनेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १–० ले पराजित गर्याे ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई खेलको ७६औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरे । उनले गोलरक्षक एलिसनले रिलिज गरेको लामो प्रहारलाई उत्कृष्ट नियन्त्रण लिँदै गोल गरेका थिए । रेफ्रीमाथि अभद्र ब्यवहार गरेपछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले दोस्रो हाफमा रातो कार्डको सामना गरेका थिए ।

हारसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो । लिभरपुल भने लयमा फर्किएको जनाउन सफल भयो । १० खेलबाट २३ अंक बटुलको सिटी पहिलो खेलमा हार बेहोर्दै दोस्रो स्थानमा छ । समान खेलबाट शीर्षस्थानको आर्सनलको २७ अंक छ । लिभरपुल नौ खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा छ ।

चेल्सी र आर्सनलकाे जित
एस्टन भिल्लालाई पराजित गर्दै चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेकाे हाे । चेल्सीको जितका लागि मासन माउन्ट एक्लैले दुई गोल गरेका थिए । खेलको छैटौं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरूवाति अग्रता दिलाएका माउन्टले खेलको ६५ औं मिनेटमा माउन्टले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २–० को जित दिलाएका हुन् ।

जितसँगै चेल्सीले ९ खेलमा १९ अंक जोडेको छ । यो जितसँगै चेल्सी चौथो स्थानमा रहेको छ । एस्टन ९ अंक जोडेर १६ औं स्थानमा रहेको छ । आइतबार राति भएको अर्को खेलमा आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेको छ ।

आर्सनलले लिड्स युनाईटेडलाई १–० गोल अन्तरले पराजित गरेकाे हाे । आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरेका थिए । साकाले खेलको ३५ औं मिनेटमा गोल गरेका हुन् ।

रियलले बार्सिलोनालाई हरायो
स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ मा रियल म्यड्रिडले क्याटलान क्लब बार्सिलोनालाई ३–१ अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले समान एक एक गोल गरे । बाििर्सलोनाको फेरान टोरेसले एक गोल गरे ।

आइतबार १२औं मिनेटमा कप्तान बेन्जेमाको गोलबाट रियलले अग्रता लियो । ३५औं मिनेटमा फेडे भाल्भेर्डेले दोस्रो गोल गरे ।

८३औं मिनेटमा बार्सिलोनाका बैकल्पिक खेलाडी टोरेसले गोल गर्दा अग्रता २–१ मा भरेको थियो । तर, इन्ज्युरी समयमा वैकल्पिक खेलाडी रोड्रिगोले पेनाल्टीमा गोल गरेपछि रियल सिजनको पहिलो एल क्लासिकमा सहज जित निकाल्न सफल भयो ।

जितसँगै रियलले नौ खेलबाट २५ अंक सहित शीर्षस्थानमा छ । सिजनको पहिलो हार बेहोरेको बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा छ ।

बायर्नको पाँच गोल
बुन्डेसलिगा महारथि क्लब बायर्न म्युनिखले आइतबार राति एससी फ्रेइबर्गमाथि ५ ० को सहज जित निकालेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नको जितमा सर्जियो जिनाब्री, इरिक माक्सिम, लिरोय साने, साडियो माने र मार्सेल साविट्जरले एक-एक गोल गरे ।

जितसँगै बायर्न १० खेबबाट १९ अंक जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट २३ अंक जोडेको युनियन बर्लिन शीर्षस्थानमा छ । फ्रेइबर्ग १८ अंक सहित तेस्रो स्थानमा छ ।