१८ बैशाख २०८१, मंगलवार
Follow Us

शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा प्रबिण खराल

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७९, सोमबार १९:२६

लन्डन। बेलायतको मिडल्यान्ड क्षेत्रकै एक प्रमुख नेपाली संस्था शान्ति नेपाली समाज बेलायतमा नयाँ नेतृत्व चुनिएको छ । सोमबार वेष्ट ब्रोमिचमा सम्पन्न समाजको पाँचौं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ। आगामी दुई वर्षको कार्यकालका लागि चयन गरिएको कार्यसमितिको अध्यक्षमा प्रबिण खराल निर्वाचित भएका छन्। खरालले यसअघि समाजको महासचिव र सांस्कृतिक संयोजकको रुपमा एकएक कार्यकाल भूमिका निर्वाह गरेका थिए।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने र बाबुराम सापकोटा, महासचिवमा पदम शाही, सहसचिवमा बिनोद थापा, कोषाध्यक्षमा प्रमोद शर्मा (पारस सापकोटा) र सहकोषाध्यक्षमा चिन्तामणि खरेल चुनिएका छन्।

त्यस्तै, सदस्यहरूमा डिएन खराल, पृथ्वीनारायण अर्याल, निशान्तमान बज्राचार्य, लेखनाथ घिमिरे, चुनकला पाण्डे (माया), सुशिला दवाडी, शिवलाल पौडेल, काशिराम बन, प्रल्हाद कंडेल र तेजबहादुर भण्डारी छन्।

२१ सदस्यीय कार्यसमितिमा रिक्त चार सदस्य पछि मनोनित गरिने जनाइएको छ। निर्वाचन समितिका प्रमुख साझा नेपाली समाज यूकेका अध्यक्ष कृष्णप्रसाद शर्माले नवनियुक्त पदाधिकारी एवम् सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए। शर्माको संयोजकत्वमा रहेको निर्वाचन समितिमा मिलन सापकोटा र विवेश न्यौपाने सदस्य थिए।

निवर्तमान समितिका अध्यक्ष भोजराज भण्डारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव महेन्द्र काफ्ले र कोषाध्यक्ष दिनेश कंडेलबाट प्रस्तुत सामाजिक तथा वार्षिक प्रतिवेदनहरुनाथि छलफल गरी पारित गरिएको थियो।

त्यसअवसरमा संस्थापक अध्यक्ष काशीनाथ शर्मा, पूर्व अध्यक्षहरु कोशलेश्वर ढकाल र लिलबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए।

निवर्तमान समितिका अध्यक्ष भोजराज भण्डारीले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।

नवनिर्वाचित अध्यक्ष खरालले सबैलाई समेटेर संस्थालाई थप मजबुद बनाउँदै अगाडि बढाउने प्रतिवद्धता गरेका छन्।