८ जेष्ठ २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्रीले ‘बाटो खर्च’ भन्दै बाँडे आफ्ना उम्मेदवारलाई ७ करोड २२ लाख

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७९, आईतवार ०६:०५

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारलाई ‘बाटो खर्च’ भन्दै सात करोड २२ लाख बाँडेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाख र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखका दरले टिकटसँगै ‘बाटो खर्च’ दिइएको बताए । ‘अरू खर्च भने उम्मेदवार स्वयंले पार्टीको तल्ला कमिटी र शुभेच्छुकमार्फत सङ्कलन गरेर गर्न सक्छन्,’ उनले भने ।

काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि ९१ र प्रदेश सभा सदस्यका लागि एक सय ७९ उम्मेदवार छन् । यसअनुसार दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख ‘बाटो खर्च’ बाँडेका हुन् ।

काँग्रेसले आर्थिक उपसमिति बनाएर शुभचिन्तकहरूबाट स्वैच्छिक रूपमा चुनावी सहयोग सङ्कलन गरिरहेको निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले बताए । तर, यसरी सङ्कलित रकम उम्मेदवारहरूलाई नदिइने उनको भनाइ छ ।

‘टिकट दिएर पठाउँदा सङ्घ र प्रदेशका उम्मेदवारलाई सभापतिले केही बाटो खर्च दिएर पठाउनुभएको छ । पार्टीले उम्मेदवारको अरू खर्च व्यवस्थापन भने गरेको छैन, त्यो काम उहाँहरूकै हो,’ श्रेष्ठले भने । उम्मेदवारलाई दिइएको ‘बाटो खर्च’ सभापतिको स्वविवेक भएकाले आफूलाई त्यसबारे जानकारी नभएको उनको भनाइ छ ।