४ बैशाख २०८१, मंगलवार
Follow Us

चेल्सीलाई हराउँदै सिटी चौथो चरणमा

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०७९, बिहीबार ०३:५५

लन्डन । रियाद मेहराज र जुलियन अल्भारेजको गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई २–० अन्तरले पराजित गर्दै काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । पहिलो हाफमा दुबै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन् । सिटीका ज्याक गे्रअलिस  र १८ वर्षीय मिडफिल्डर लेविस हलले पाएको मौका सदुपयोग गर्न सकेनन् । सिटीले घरेलु मैदानमा सुधारिएको खेल देखाउँदै गोल गर्न सफल भयो ।

दोस्रो हाफमा पाएको फ्रिकिकलाई मेहराजले उत्कृष्ट गोल गरे । यससँगै सिटीले खेलको ५३औं मिनेटमा अग्रता लियो । अल्भारेजले ५८औं मिनेटमा गोल गर्दा सिटी सहज जिततर्फ अग्रसर भयो ।  आठ पटकको च्याम्पियन पेप ग्वार्डिओलाको सिटीले तेस्रो चरणमा अहिले सम्म पराजित हुनु परेको छैन ।

पहिलो हाफमा क्रिस्टियन पुलिसिकले दुई मौका गुमाउँदा चेल्सी हारमा बाध्य भयो । दोस्रो हाफमा समेत चेल्सी भाग्यमानी रहन सकेन । दोस्रो हाफमा सिटीका पूर्व खेलाडी रहिम स्टर्लिङ मैदान प्रवेश गरेपनि कुनै जादु देखाउन सकेनन् ।  यससँगै ग्राहम पोटरको नेतृत्वमा रहेको चेल्सीले पछिल्लो सात खेलमा दुई खेलमात्रै जितेको छ । शनिबार चेल्सीले प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग खेल्दैछ ।

 आर्सनल र टोटनहम पराजित
प्रिमियर लिगमा महारथि क्लब आर्सनल र टोटनहम कारोबाओ कपमा पराजित हुँदै तेस्रो चरणबाटै बाहिरिएका छन् । आर्सनल घरेलु मैदानमा ब्राइटनसँग ३–१ स्तब्धपूर्ण नतिजा निकाल्यो ।  ब्राइटनका डेनी वेल्बेक, काओरु मिटोमा र टारिक लाम्पटेले गोल गरे । आर्सनललका एडि एनकेटिआले एक गोल गरेका थिए । पछिल्लो २० खेलमा आर्सनलले हारेको यो तेस्रो खेल हो । प्रशिक्षक माइकल अर्टेटाले चेल्सीसँग खेलेको टोलीबाट १० खेलाडी परिवर्तन गरेका थिए ।

अर्काे खेलमा १० खेलाडीमा सिमित नटिङ्घम फोरेस्टले टोटनहमलाई २–० अन्तरले पराजित गरेको हो । पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । फोरेस्टका रेनान लोडीले खेलको ५०औं मिनेटमा अग्रता लिए । जस लिङ्गार्डले ५७औं मिनेटमा काउन्टरमा गोल गर्दा २–० को अग्रता बनायो । खेलको ७५औं मिनेटमा फोरेस्टका मंगलाले रातोकार्ड पाएका थिए ।