७ बैशाख २०८१, शुक्रबार
Follow Us

बंगलादेशलाई रोके नेपाल च्याम्पियन

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७९, शुक्रबार ०५:५४

काठमाडौं । साफ यु १५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा हुने खेल नेपाली समय अनुसार सवा चार बजे सुरु हुनेछ ।

तीन राष्ट्र सहभागी साफ च्याम्पियनसिपमा नेपाल एक्लो अपराजित टोली हो । अन्तिम खेलमा  दिपा रोकायको कप्तानीमा रहेको नेपाल बंगलादेशलाई पराजित गर्दै च्याम्पियन हुने दाउमा छ । बंगलादेशविरुद्ध नेपाल जित या बराबरले सिधै च्याम्पियन हुनेछ । बंगलादेश भने ‘गर या मर’ को स्थितिमा छ ।

डबल राउन्ड रोबिन पद्धतिमा जारी साफ च्याम्पियनसिपको शीर्षस्थानमा रहने टोली सिधै च्याम्पियन हुने प्रावधान छ । सुरुवाती तीनै खेल जितेको नेपाल तालिकामा नौं अंक सहित  शीर्षस्थानमा छ । नेपालसँग पराजित बंगलादेश तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ । भुटान भने चार खेलबाट कुनै अंक जोड्न नसक्दा पुछारमा रह्यो ।

नेपाललाई च्याम्पियन बन्न बराबर मात्रै काफि हुँदा बंगलादेशलाई भने जितको विकल्प छैन । यदि बंगलादेशले खेल जितेको अवस्थामा अंक बराबर हुनेछ । गोल अन्तरमा नेपाल पछिपर्दा बंगलादेश भने स्वतः च्याम्पियन बन्नेछ । बंगलादेशको सात गोलले माथि रहेको छ ।

भगवती रानामगरको प्रशिक्षणमा रहेका नेपालले पहिलो खेलमा बंगलादेशलाई ७–० अन्तरले पराजित गरेको थियो । दोस्रो र तेस्रो खेलमा नेपालले बंगलादेश र भुटानविरुद्ध संघर्षपूर्ण १–० को जित निकालेको हो । बंगलादेशले भने पहिलो खेलमा भुटानलाई ८–० ले पराजित गर्दा दोस्रो खेलमा नेपालसँग घरेलु मैदानमा पराजित भएको थियो । भुटानविरुद्ध दोस्रो खेलमा बंगलादेश ९–० ले विजयी भएको थियो ।