७ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७९, आईतवार ०४:२४

दोहा । फ्रान्स र मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति सम्पन्न खेलमा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गरेर सेमिफाइनलमा पुगेको हो भने आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सले इग्लयान्डलाई २–१ ले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । क्वाटरफाइनलमा खेल सम्पन्नसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि नै सेमिफाइनलमा पुगेका क्रोसिया र अर्जेन्टिना भिड्दा मोरक्कोले फ्रान्सकाे सामना गर्नेछ ।

कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।

यता, दोहास्थित अल थुमा रङ्गशालामा भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो । विश्वकप फुटबलमा अफ्रिकी मुलुकबाट सेमिफाइनलमा पुग्ने मोरक्को पहिलो हो ।

यो ऐतिहासिक जीतका लागि ४२औँ मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अत्तिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो । अत्तिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेँलो कार्डपछिको रातो कार्ड पाएर मैदान बाहिरिएका थिए ।