पेन्सिलभेनिया । युनाइटेड होम केयर सर्भिस एलएलसीको मुख्य प्रायोजनमा अमेरिकाको पेन्सिलभेनिया राज्यको ल्यानक्यास्टरमा हुने नयाँ वर्ष सांगीतिक साँझमा चर्चित गायीका आस्था राउत सहभागि नहुने भएकी छिन्।
६ दिन अगाडि अमेरिकाको डल्लास यात्रा भन्दै आफ्नो आधिकारिक फेसबुकमा विदाइको फोटो सहित स्टाटस राखेकी गायीका राउतले एक दिन अगाडि मात्र अर्को पोष्ट गर्दै कार्यक्रममा उपस्थित हुन नसकेकोमा क्षमा मागेकी छिन्।
युनाइटेड होम केयर सर्भिसको प्रायोजनमा स्थानीय युवाले पेन्सिलभेनियाको ल्यानक्यास्टरमा नयाँ वर्ष सांगीतिक साँझको आयोजना गर्दै थिए। सो सांगीतिक कार्यक्रममा राउत सहित नलिना चित्रकार लगायतको प्रस्तुति रहने आयोजकले जनाएको थियो।
गायीका राउतले ६ दिन अगाडि ‘हासेर विदाई गर्ने सबै साथीलाई धन्यवाद’ भन्दै स्टाटस राखेकी थिइन्। तर उनको अडेट स्टाटसमा कार्यक्रममा सहभागि हुन नसकेकोमा क्षमा मागेकी छिन्।
‘गन्तव्य स्थानमा जाने क्रममा आएको प्राविधिक समस्याको कारणले उक्त समारोहमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दछु’ राउतले अगाडि लेखेकी छिन्, ‘साथै निर्धारित समयमै उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेछ भन्नेमा पूर्ण आशा गर्दै मेरो कारणले आयोजक वर्गमा पर्न गएको असुबिधा प्रति गहिरो चिन्ता व्यक्त गर्दछु ।’
उनले कस्तो प्राविधिक समस्या भन्ने खुलाएकी छैनन। तर उनी अमेरिकाको विमानस्थलबाटै नेपाल फर्कन बाध्य भएको जनाइएको छ। आश्थाले आफु विमानस्थलबाट प्राविधिककारणबस फर्कन परेको जानकारी दिएको आयोजकको भनाई छ।
आयोजक मध्येका एक विजय घिमिरेले सो घटनाले आफुहरु आश्चर्यचकित भएको प्रतिक्रिया दिए। ‘हामी अहिलेकी चर्चित गायीकाका साथ ल्यानक्यास्टरबासी नयाँ वर्ष मनाउने प्रतिक्षामा थियौ तर त्यो सफल हुन सकेन।’
घिमिरेले बदलिदो परिस्थिति प्रति क्षमा मागेका छन्। ‘यो पटक हामीले आस्था राउत भएको कार्यक्रम गर्न सकेनौ त्यसका लागि क्षमा चाहान्छौ तर उहाँको ठाँउमा अर्का चर्चित गायक निमा रुम्बाको प्रस्तुति रहेने छ।
कार्यक्रममा सहभागि हुने अन्य कलाकार भने यथावत नै रहने घिमिरेले बताए। ल्यानक्यास्टरको लिटिजमा रहेको मिकिस ब्याल्क बक्स हलमा जनवरी एक तारिक दिउसो चार देखि ११ बजे सम्म साँगीतिक कार्यक्रम हुने छ।
कार्यक्रममा अब निमा रुम्बा, गायीका नलिना चित्रकार, अर्का गायक जगदिस समालको पनि प्रस्तुती रहने छ। यस्तै गायक कृष्ण ढकालले पनि कार्यक्रममा प्रस्तुति दिने छ।
अत्याधुनिक र सुविधा सम्पन्न हलमा हुने कार्यक्रममा मेरो भ्वाइस कपको विजेता प्रविण वर्देवा, तथा नृत्यङ्गना रेनुका राई र मोना क्षेत्रीले पनि माहोल तताउने छन्।
गायक विनोद गुरुङ एमसीमा पनि रहने छन्। घिमिरेका अनुसार पूर्णरुपमा मनोरञ्जनात्मक कार्यक्रममा दुई प्रकारको टिकटको व्यवस्था गरिएको छ।
साधरण टिकटको ३० अमेरिकी डलर तोकिएको छ। यस्तै विषेश टिकटको ६० अमेरिकी डलर रहेको छ।
युनाइटेड होम केयर एललसी मुख्य प्रायोजक रहेको कार्यक्रमको आयोजक ल्यानक्यास्टर निवासी विजय घिमिरे, दिपक घिमिरे, रमेश घिमिरे र गोपाल भट्टराई रहेका छन्।
कार्यक्रमको टिकट ल्यानक्यास्टरको कोलम्विया एभिन्यूमा रहेको एशियन मिनि मार्टबाट खरिद गर्न सकिने आयोजकको भनाई छ। यस्तै कार्यक्रम स्थलको मुलद्वारमा पनि कार्यक्रम हुनु अगाडि टिकट विक्रि गरिने जनाइको छ।
– समाज टाइम्स